सत्ता गठबन्धनले चुनावमा भागबण्डाको सिफारिस गर्न कार्यदल बनाउने

साझापोस्ट

काठमाडैं । सत्ता गठबन्धनमा आवद्ध ५ दलीय दलले आगामी चुनावी तालमेलका लागि कार्यदल बनाउने   भएका छन् । बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले चुनावमा तालमेल र भागबण्डाको सिफारिस गर्न कार्यदल बनाउने निर्णय गरेको हो ।

योसँगै गठबन्धनले आगामी संघ र प्रदेशको निर्वाचनमा एक भएर जाने निर्णय पनि गरेको छ । नेकपा एकीकृत समाजवादीका महासचिव डा. बेदुराम भुसालका अनुसार आगामी भदौ दोस्रो साताभित्र सिटको भागबण्डा टुंग्याउने गरी कार्यदललाई जिम्मा दिने निर्णय भएको छ ।

कार्यदलमा बस्ने सदस्यहरुको नाम भने दलहरुले आन्तरिक छलफल गरेर टुंग्याउने भएका छन् । बैठकले सरकारले हिजो आगामी मंसिर ४ गतेका लागि चुनावको मिति घोषणा गरेकोमा स्वागत गरेको छ । सत्ता गठबन्धनमा रहेका दलहरुले सिट भागबण्डामा आआफ्नै प्रस्ताव अघि सारेका छन् । तर आजको बैठकमा कुनैपनि दलले सिट दावी नगरेको भुसालले जानकारी दिए ।

नेपाली काँग्रेसले ९५ देखि १०० सिट आफुले पाउनुपर्ने दावी गर्दै आएको छ । त्यस्तै माओवादी केन्द्रले ५० माथि,  नेकपा एकीकृत समाजवादी २० र  जनता समाजवादीले १५ देखि २० सिटमा दावी गर्ने नेताहरुले बताउदै आएका छन् ।

प्रतिनिधिसभाका १ सय ६५ र प्रदेशका ३ सय ३० निर्वाचन क्षेत्र एकमुष्ट बाँडफाँट गर्ने तयारी भए पनि सहमति जुटाउन सत्ता गठबन्धनलाई सहज देखिँदैन । गठबन्धन दलका लागि मधेस प्रदेशमा पर्ने प्रतिनिधिसभाका ३२ र प्रदेशसभाका ६४ सिटको बाँडफाँट अझै पेचिलो हुन सक्ने देखिएको छ ।