सत्ता गठबन्धनका पाँच दलबीच मिलेर चुनाव लड्ने सहमति, सिट बाँडफाँटका लागि कार्यदल गठन

साझापोस्ट

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धन मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा तालमेल गर्न सहमत भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको बैठकमा चुनावी तालमेलको सहमति हो । बैठकपछि नेपाली कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले पत्रकारसँग भने, प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल गर्ने निर्णय गर्‍यो ।’

बैठकले सिट बाँडफाँटको गृहकार्य गर्न ९ सदस्यीय कार्यदलसमेत बनाएको स्रोतले जनाएको छ । कार्यदलमा नेपाली कांग्रेसबाट कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की छन् भने माओवादी केन्द्रबाट देव गुरुङ र वर्षमान पुन छन् ।

यस्तै, नेकपा (एकीकृत समाजवादी) बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव वेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव, रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।

कार्यदललाई कुन दलले कति सिट लिने भन्ने साउन अन्तिमसातासम्म सिफारिस गर्न समय दिइएको छ । भदौ पहिलो साताभित्र तालमेलको मोडालिटी टुंगो लगाउने निर्णय गरेको छ ।