परराष्ट्र मन्त्री खड्का २४ गते चीन भ्रमणमा जाने

साझापोस्ट

काठमाडौं । परराष्ट्र मन्त्री नारायण खड्काले छिमेकी देश चीनको भ्रमण गर्ने भएका छन्।

परराष्ट्र मन्त्रालयले दिएको जानकारी अनुसार चिनियाँ समकक्षी वाङ यीको निम्तोमा खड्का साउन २४ गते चीन जान लागेका हुन्।

खड्का र यीबीच साउन २५ मा चीनको पूर्वी प्रान्त सान्दोङको छिन्ताओ सहरमा दुई पक्षीय वार्ता हुनेछ। त्यस्तै परराष्ट्रमन्त्री खड्काको सम्मानमा चिनियाँ विदेशमन्त्री वाङ यीले भोजको आयोजनासमेत गर्नेछन् । परराष्ट्रमन्त्री खड्का साउन २६ गते स्वदेश फर्कने कार्यक्रम छ ।

पछिल्लो समय चीनबाट उच्चस्तरीय भ्रमण भइरहेको छ । पछिल्ला ४ वर्षमा चीनबाट राष्ट्रपति सी जिनफिङसहितका ६ शीर्ष नेताको भ्रमण भएको छ । २०७८ चैत ११–१३ मा चिनियाँ विदेशमन्त्री वाङले नेपाल भ्रमण गरेका थिए । भ्रमणमा नेपाल र चीनबीच १२ बुँदे सम्झौता भएको थियो । त्यसपछि हालै मात्र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओले ४ दिने भ्रमण गरेका थिए ।