गृहमन्त्री खाण र चिनीयाँ राजदूतबीच भेटवार्ता

साझापोस्ट

काठमाडौं । नेपालका लागि चिनीयाँ राजदूत होउ यान्छीले गृहमन्त्री बालकृष्ण खाँणसँग शिष्टाचार भेटघाट गरेकी छन् ।

गृहमन्त्रालयमा शुक्रबार बिहान भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध थप सुदृढ बनाउनेबारे छलफल भएको छ ।भेटमा गृहमन्त्री खाणले नेपाल एक चीन नीतिको पक्षमा रहे प्रष्ट पारेका छन । नेपालभित्र छिमेकी राष्ट्रविरुद्ध कुनै गतिविधि हुन नदिन तथा नेपाल असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा अडिग रहेको पनि गृहमन्त्री खाणले बताए । अन्य छिमेकी मुलक र चीनको शान्ति नेपालको हितमा रहेको गृहमन्त्री खाँणले बताए ।

ताइवानको विषयलाई लिएर चीन–अमेरिकाबीच तनाव चलिरहेका बेला चिनीयाँ राजदूतले भेट गरेकी हुन । ताइवान मामिलामा चीनले नेपालको साथ खोजिरहेको छ ।भेटमा राजदूत होउले नेपालमा हुने विपद्को व्यवस्थापनमा चीन सहयोग गर्न तयार रहेको बताइन् ।सरकारले बिहीबारमात्रै प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन घोषणा गरेकोमा चीनले खुसी व्यक्त गरेको राजदूत यान्छीले बताइन् । जनताको मतबाट प्रतिनिधि चुनिने व्यवस्थाको पक्षमा चीन सदैव रहने बताउँदै राजदूत यान्छीले जनमतबाट आउने नयाँ सरकारसँग चीन सहकार्य गर्न तयार रहेको बताइन् ।