चीनले प्रहार गरेका पाँचवटा मिसाइल जापानको विशेष आर्थिक क्षेत्रमा, जापानको आपत्ति

साझापोस्ट

एजेन्सी । सैन्य अभ्यास सुरु गरेको चीनले प्रहार गरेका पाँचवटा चिनियाँ क्षेप्यास्त्र आफ्नो विशेष आर्थिक क्षेत्रमा खसेको भन्दै जापानले आपत्ति जनाएको छ । जापानले कूटनीतिक च्यानलमार्फत कडा रूपमा प्रतिवाद गरेको हो । चीनले अहिलेसम्म ताइवानको भूमि वरपर ११ वटा क्षेप्यास्त्र प्रहार गरिसकेको जनाएको छ । चीनले ताइवानको उत्तरपूर्वी र दक्षिणपश्चिमी तटहरू वरपरको समुद्रमा थुप्रै डङ्फेङ् बलिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको बताइएको छ ।

ताइवानका रक्षा मन्त्रीले पनि प्रक्षेपणको प्रतिक्रिया स्वरूप आफ्नो प्रतिरक्षा प्रणाली सक्रिय बनाएको बताएका छन् । ताइवानको १२ माइल भित्रका धेरै स्थानहरूमा अभ्यास हुने चीनले तय गरेको छ । ताइवान र त्यहाँबाट अन्यत्र जाने ५० भन्दा बढी अन्तर्राष्ट्रिय उडानहरू रद्द गरिएका छन् । चीनले अन्तर्राष्ट्रिय समुदायलाई यस टापुलाई सहयोग नगर्न बाध्य तुल्याउने प्रयास गरिरहेको ताइवानको भनाई छ । चीनमाथि क्षेत्रीय शान्ति बिथोलेको र नाकाबन्दी लगाएको ताइवानको आरोप छ ।

चीनले ताइवानको आकाशमा विमानहरू उडाउने निर्णय गरेको खण्डमा ताइवानले उनीहरूलाई रोक्ने प्रयास गर्ने सम्भावना रहेको छ । जसका कारण दुई देशबीच हवाई टक्कर हुनसक्छ । चीनको चेतावनीका बाबजुत अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेपछि तनाव उत्पन्न भएको हो । सोही भ्रमणको विरोधमा बेइजिङले सैन्य अभ्यासहरू सुरु गरेको हो । यसैबीच अमेरिकाको जलसेनाले ताइवानतर्फ विमान पठाएको छ ।