स्वतन्त्रलाई ओलीको प्रश्न : दुनियाँका मान्छे सबै पागल भएर दलीय सिस्टम आएको हो ?

साझापोस्ट

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेकाहरुमाथि हमला गरेका छन ।

काठमाडौंमा भएको कार्यक्रममा ओलीले एक ठाउँको एउटा स्वतन्त्रले एकछिन मनोरञ्जन गर्नु एउटा कुरा हो भन्दै छिटफुट र अपवादका रुपमा स्वतन्त्र भयो भन्दैमा देशको समग्र योजनावद्ध विकास, उन्नति प्रगति हुन नसक्ने बताए ।

नेताहरुले केही गरेनन् अब स्वतन्त्रले गर्छ भनेर हल्ला चलाइदिने गरेको ओलीको आरोप छ । ‘स्वतन्त्रहरुका सोच हुन्छन् कि हुँदैनन् ? हुन्छन् भने बेग्लाबेग्लै सोचका मान्छेहरु आएर एउटै तालमा कसरी जान्छन् ? ’ सरकारमा पुग्न मात्र स्वतन्त्र भनेको हो कि भन्ने प्रश्न गर्दै ओलीले भने – सरकारमा पुगेपछि कसको सोच कसले मान्ने ?  हुने कुरै होइन त्यो, तर एउटा हल्ला के चलाइदिन्छ भने स्वतन्त्र भनेर चलाइदिन्छ, संभव हुने कुरै होइन त्यो ।’

देश बनाउन फरक फरक सोच भएका व्यक्ति नभई एउटै सोच र उद्देश्य भएका व्यक्तिहरु एक हुनु पर्ने ओलीको भनाइ छ ।

दुनियाँका मान्छे सबै पागल भएर दलीय सिस्टम आएको हो र ?  भन्ने प्रश्न गर्दै ओलीले  भने -मेचीदेखि महाकालीसम्मको मान्छे एउटा कार्यक्रम र एउटा उद्देश्यमा चलेन भने राष्ट्र निर्माण कसरी हुन्छ ? ’  ।