चुनावका लागि साउन ३१ सम्म दल दर्ता गर्न आयोगको आह्वान

साझापोस्ट

काठमाडौं ।  निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न आह्वान गरेको छ।

आयोगले शुक्रबार निर्वाचनमा भाग लिनका लागि आयोगमा २०७९ साउन १९ सम्म दर्ता कायम रहेका राजनीतिक दलहरुलाई संविधानको धारा २७१ बमोजिम यही साउन २२ गते देखि २०७९ साल साउन ३१ गतेसम्म दल दर्ता गर्न आह्वान गरेको हाे ।

१० दिनभित्र कार्यालय समयभित्र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची–१२ बमोजिमको ढाँचामा निर्वाचन आयोग, कान्तिपथ, काठमाडौंस्थित कार्यालयमा दल दर्ताका लागि निवेदन दिन सूचित गरिएको आयोगले जनाएको छ। निवेदनको ढाँचा आयोगको वेब–साइट बाट डाउनलोड गर्न वा आयोगको सचिवालयबाट प्राप्त गर्न सकिनेछ।

दल दर्ताको लागि निवेदन दिँदा राजनीतिक दलको विवरण, दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको संख्या, दलले वार्षिक लेखापरीक्षण प्रतिवेदन पेश गरेको मिति र दलको केन्द्रीयस्तर र प्रदेशस्तरको कार्यकारिणी समितिको पछिल्लो निर्वाचन भएको मिति समेत उल्लेख गर्नुपर्नेछ।

यसरी दल दर्ताको लागि निवेदन दिँदा प्रतिनिधिसभा सदस्यको छुट्टै र प्रदेशसभा सदस्यको हकमा प्रदेशगत रुपमा ७ वटा प्रदेशको लागि छुट्टाछुट्टै निवेदन पेश गर्नुपर्ने आयोगले जनाएकाे छ।

दुई वा त्यो भन्दा बढी दलहरुले गठबन्धन गरेर एउटै निर्वाचन चिन्हबाट निर्वाचन लड्न खोजेमा त्यो सुविधा पाउने भएका छन् । निर्वाचन आयोगले दल दर्ताको सार्वजनिक सूचना निकाल्दा गठबन्धन गरेर एउटै निर्वाचन चिन्हबाट समेत निर्वाचन लड्नसक्ने सुविधा दिएको हो ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४९ मा दुई वा त्यो भन्दा बढी दलहरु एकल निर्वाचन चिन्ह लिई निर्वाचनमा भाग लिन पाउने व्यवस्था छ । त्यसका लागि दुई वा बढी दलले कुनै दलको निर्वाचन चिन्ह लिएर संयुक्त रुपमा निर्वाचनमा भाग लिन पाउनेछन् । उनीहरुले आफूहरुको बाहेक अन्य कुनै निर्वाचन चिन्ह लिएर पनि निर्वाचनमा जान पाउनेछन् ।

‘दल दर्ताको लागि निवेदन पेश गर्दा संविधानको धारा २६९ को उपधारा ४ बमोजिमका शर्तहरु पूरा गरेको र यी शर्तहरु पूरा गर्ने प्रतिवद्धता जनाएको पत्र समेत निवेदनसाथ संलग्न हुनुपर्ने र आयोगबाट स्वीकृत रुजुसूची (चेकलिष्ट) भरी प्रमुख पदाधिकारी वा प्रमुख पदाधिकारीले अधिकार दिएको व्यक्तिले प्रमाणित गरी पेश गर्नुपर्ने छ’ आयोगले भनेको छ।

दल दर्ता प्रयोजनको लागि सार्वजनिक बिदाको दिनमा समेत आयोगको कार्यालय खुला रहने र अन्य थप जानकारीको लागि आयोगको टोलिफोन नं ०१–५३२३१८२ र ४२२९६४३ मा सम्पर्क राख्न सकिने समेत व्यवस्था मिलाइएको आयोगले जनाएको छ। आयोगका अनुसार ११६ राजनीतिक दल दर्ता भएका छन् । सरकारले आगामी मंसिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मिति तोकेको छ ।