नेपालले केन्यासँग ५ खेलको टी–ट्वेन्टी सिरिज खेल्ने

साझापोस्ट

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले केन्यासँग ५ खेलको टी-ट्वेन्टी सिरिज खेल्ने भएको छ । नेपालले केन्यासँग उसैको मैदानमा ५ खेलको सिरिज खेल्ने भएको हो ।

यस्तै नेपालले अभ्यास खेलको रुपमा ५० ओभरको तीन खेल खेल्नेछ ।सिरिजका लागि नेपाली टोली अगस्टको अन्तिम साता केन्या जानेछ ।
नेपाल क्रिकेट संघ(क्यान)का अध्यक्ष चतुर बहादुर चन्दले नेपालले ५ खेलको सिरिज खेल्ने पक्का भएको बताए । तर मिति भने तय भईसकेको छैन ।

केन्याको क्रिकेट संघले सिरिजको निम्तो दिएपछि नेपाली टोली केन्या जान लागेको हो । केन्याले सन् १९९६ देखि २०११ सम्म लगातार पाँच पटक एकदिवसिय विश्वकप खेलेको थियो ।

विश्वकपमा केन्याले श्रीलंका, जिम्बावे, बंगलादेशलाई हराउँदै सेमिफाइनल खेलेर विश्व क्रिकेटमा हंगामा मच्चाएको थियो । केन्या एसोसियट टोलीको सर्वाधिक सफल देश हो ।