बंगलादेशलाई ५–२ ले हराउँदै भारत बन्यो च्याम्पियन

साझापोस्ट

काठमाडौं । साफ यू–२० च्याम्पियनसिप फुटबलको उपाधि घरेलु टोली भारतले जितेको हो । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा शुक्रबार भएको फाइनलमा बंगलादेशलाई ५–२ ले हराउँदै भारत च्याम्पियन बन्यो ।

भारतलाई जिताउन गुरकिरत सिंहले ह्याट्रिकसहित ४ गोल गरे । यस्तै हिमान्सु जान्ग्राले एक गोल गरे ।बंगलादेशका मोहमद रोजन र शाहीम मियाले एक एक गोल गरे ।रोमान्चक खेलको दोस्रो मिनेटमै गुरकिरत सिंहले पेनाल्टीमा गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए ।

तर, ४५ औं मिनेटमा मोहमद रोजनले गोल गर्दै बंगलादेशलाई १–१ गोलको बराबरीमा ल्याए ।खेलको ४८ औं मिनेटमा शाहीम मियाले गोल गर्दै बंगलादेशलाई २–१ को अग्रता दिलाए । तर ६० औं मिनेटमा गुरकिरतले व्यक्तिगत दोस्रो गोल गर्दै २–२ को बराबरी गरे ।

त्यसपछि खेलको निर्धारित ९० मिनेटमा थप गोल भएन र खेल अतिरिक्त समयमा गयो । जहाँ भारत हावी हुँदै तीन गोल थप्यो ।

अतिरिक्त समयमा भारतले लगातार तीन गोल गर्यो । खेलको ९२ औं मिनेटमा हिमान्सु जान्ग्राले गोल गर्दै भारतलाई ३–२ को अग्रता दिलाए ।९३ औं मिनेटमा गुरकिरतले ह्याट्रिक पूरा गरे र भारतले ४–२ को अग्रता बनायो ।

त्यसपछि खेलको ९९ औं गुरकिरतलले व्यक्तिगत चौथो गोल गर्दै भारतलाई ५–२ को जित दिलाए ।जितसँगै भारतले लिग चरणमा व्यहोरेको हारको बदला लिएको छ ।बंगलादेशले लिग चरणमा भारतलाई २–१ ले हराएको थियो ।