शनिबार, वैशाख ८ गते २०८१
Logo
शनिबार, वैशाख ८ गते २०८१

अमेरिकामा रहेका नेपालीलाई महावाणिज्य दूतावासले दियो यस्तो सुझाव

अमेरिकामा रहेका नेपालीलाई महावाणिज्य दूतावासले दियो यस्तो सुझाव

साझा पोष्ट
सोमबार, जेठ २३ २०७९
  • images
    अमेरिकामा रहेका नेपालीलाई महावाणिज्य दूतावासले दियो यस्तो सुझाव
    images
    न्यूयोर्क । न्यूयोर्कस्थित नेपाली महावाणिज्य दूतावासले अमेरिकामा रहेका नेपाली एवं नेपाली मूलका नागरिकलाई स्वदेशी उत्पादन उपभोग गर्न आग्रह गरेको छ । नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले ज्याक्सन हाईट्समा आयोजना गरेको सामुदायिक अन्तरक्रिया कार्यक्रममा कार्यबाहक महावाणिज्य दुत विष्णु प्रसाद गौतमले अमेरिकामा नेपाली उत्पादन प्रर्वद्धन गर्नु सबैको कर्तव्य भएको बताए । अमेरिकी बजारमा नेपाली बस्तुको माग बढिरहेको भन्दै उनले स्वदेशी वस्तु प्रयोग गर्दा नेपालमा रोजगारी बढनुका साथै निर्यात व्यापारमा समेत ठूलो टेवा पुग्ने बताए । न्यूयोर्कमा रहेका अधिकांश नेपाली संघसंस्थाका प्रतिनिधि सहभागी कार्यक्रममा महावाणिज्य दुत गौतमले दुतावासले दिने सेवा बारे पनि जानकारी दिएका थिए । ई पासपोर्ट, एनआरएन कार्ड, मञ्जुरी नामा (पावर अफ अटोर्नी), भिजा सुविधा, जन्म, विवाह र मृत्यु दर्ता सिफारिस जस्ता सेवा दुतावासले उपलब्ध गराईरहेको उनले जानकारी दिए । सहभागीले एनआरएन कार्ड, राहदानी तथा विविध सिफारिसका विषयमा केन्द्रित रहेर प्रश्न पनि गरेका थिए । त्यसको जवाफ दिंदै महावाणिज्य दुत गौतमले अमेरिकी राहदानी लिईसकेका नेपाली मूलका हरेक नागरिकलाई नेपाल सरकारले उपलब्ध गराउने एनआरएन परिचय पत्र लिन सुझाव दिए । १० वर्षको समयावधी हुने उक्त एनआरएन परिचय पत्र  नेपालमा सम्पत्ति लिन, संरक्षण गर्न वा त्यस्तै खालको हरेक कारोबार गर्न आवस्यक हुने भन्दै उनले यसबारे सबैले जान्नु आवस्यक रहेको बताए । एनआरएनएले जारी गर्ने परिचय पत्र र नेपाल सरकारले जारी गर्ने परिचयपत्र नितान्त फरक भएको भन्दै गौतमले त्यसका विषयमा सामाजिक अगुवाले प्रष्ट पार्नुपर्ने बताए । ई पासपोर्ट अनिवार्य नगरिएको तर एमआरपी पासपोर्टको म्याद एक वर्ष बाँकी छ भने तत्काल नविकरण गर्न पनि उनले सुझाव दिए ।  नेपालबाट राहदानी नविकरण गर्दा राष्ट्रिय परिचय पत्र अनिवार्य भए पनि अमेरिकामा ऐच्छिक बनाईएको पनि उनले जानकारी दिएका थिए । कार्यक्रममा वाणिज्य दुत गणेश प्रसाद अधिकारीले सहभागीका प्रश्नको जवाफ दिंदै  छिटो-छरितो ढंगबाट सेवा दिन तत्पर रहेको बताए । दुतावासको कार्यक्षेत्र न्यूयोर्क, कनेक्टिकट र न्यूजर्सी भए पनि विवेकको आधारमा अन्य क्षेत्रमा बस्नेलाई पनि सेवा दिईरहेको उनले जनाए । नेजाकी उपाध्यक्ष मच्छेदेवी गुरुंङ, सचिव कल्पना घिमिरे, सदस्य लोकमणी राई, अनिल अधिकारीले पनि कार्यक्रममा बोलेका थिए । कार्यक्रमको संचालन र समन्वय नेजाका क्षेत्रिय संयोजक गोकुल श्रेष्ठले गरेका थिए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार