न्युयोर्कमा अमेरिकी लगानीकर्तासँग छलफल, नेपालमा लगानी गर्न वाणिज्य दूतावासको आग्रह

गोकुल श्रेष्ठ, न्यूयोर्क ।
यहाँ स्थित नेपाली महावाणिज्य दूतावासले अमेरिकी लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरेको छ । दुतावासले नेपालमा लगानीका अवसर विषयक अन्तरक्रिया कार्यक्रम गरी यस्तो आग्रह गरेको हो ।
नेपाल अमेरिका कुट्नीतिक सम्बन्धको ७५ औं वार्षिकोत्सवको अवसर पारेर ग्रेटर न्यूयोर्क चेम्बर अफ कमर्ससँगको सहकार्यमा म्यानह्याटनमा आयोजना गरिएको कार्यक्रममा न्युयोर्क र न्यूजर्सी राज्यका अमेरिकी व्यवसायीको सहभागिता थियो ।
कार्यक्रममा कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतमले नेपालको वैदेशिक लगानी नीति, कानुनी र संस्थागत संरचना एवं विदेशी लगानीकर्तालाई प्रदान गरिएका सुविधाका प्रमुख क्षेत्रबारे जानकारी गराएका थिए । “नेपालमा लगानीका अवसर साझा समृद्धिको लागि मित्रता र व्यवसाय प्रवर्दन” विषयमा कार्यपत्र पेश गर्दै उनले लगानी बोर्ड नेपालको प्रोजेक्ट बैंक, पूर्वाधार र दिगो विकासमा सहयोग गर्ने अन्य उदीयमान क्षेत्रका प्रमुख आयोजनामा लगानी गर्न आह्वान गरे ।
कार्यक्रममा ग्रेटर न्यूयोर्क चेम्बर अफ कमर्सका अध्यक्ष एवं सीईओ मार्क जाफले नेपालका चेम्बर र कन्सुलेट जनरल तथा न्यूयोर्कमा नेपाली व्यापारी समुदायबीचको साझेदारी विकास हुनुपर्ने बताएका थिए । चर्चित व्यवसायी डा. लियोङ यिङले नेपालसँगको आफ्नो वर्तमान संलग्नताको अनुभव स्मरण गरेका थिए । उनले नेपालमा चिकित्सा, पर्यटन, पूर्वाधार परियोजनामा प्रस्तावित लगानीलाई अन्तिम रूप दिने विश्वास व्यक्त गरे । अर्का व्यवसायी जोन मेसरले विश्वका विभिन्न भागमा आफ्नो कम्पनीको उपस्थिति बारे प्रष्ट्याउँदै नेपालमा नवीकरणीय उर्जा, कृषि लगायत हरियाली प्रवर्दनका क्षेत्रमा लगानी गर्न इच्छुक रहेको जानकारी दिए ।

प्रकाशित मिति: शनिबार, असार १८, २०७९ १३:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय