बिहीबार , वैशाख १३ गते २०८१
Logo
बिहीबार , वैशाख १३ गते २०८१

काठमाडौं महानगर भन्छः फुटपाथमा व्यापार गर्न दिने नीति छैन

काठमाडौं महानगर भन्छः फुटपाथमा व्यापार गर्न दिने नीति छैन

साझा पोष्ट
बिहीबार , असार २३ २०७९
  • images
    काठमाडौं महानगर भन्छः फुटपाथमा व्यापार गर्न दिने नीति छैन
    images
    काठमाडौं । फुटपाथमा कुनै पनि किसिमको व्यापार व्यवसाय सञ्चालन गर्न दिने नीति नै नभएको काठमाडौँ महानगरपालिकाले जनाएको छ । महानगरको नीतिअनुरुप कुनै पनि समयमा सडक किनारमा खाद्यान्नलगायतका सामग्रीको बिक्री वितरण गर्न नपाइने जनाइएको छ । नगर प्रहरी प्रमुख धनपति सापकोटाले महानगरले नगर प्रहरीलाई दिएकामध्ये पहिलो जिम्मेवारी नै फुटपाथ व्यवस्थापन भएको बताए । ‘सडक पेटी पैदल यात्रु हिँड्नका लागि हो, व्यवसाय गर्नका लागि बनाइएको होइन ।’ सापकोटाले भने– त्यसैले अटेर गरी सडकपेटीमा पसल राख्नेलाई उठाइएको हो, अटेर गर्नेकै सामान जफत गरेको हो ।’ एक महिनाअघि निर्वाचित भएका महानगर प्रमुख बालेन्द्र शाहले उम्मेदवारी घोषणाकै क्रममा फुटपाथ व्यवसायलाई व्यवस्थित गर्ने बताएको उनले स्मरण समेत गराए । आगामी आर्थिक वर्षका लागि नगर सभाबाट पारित नीति तथा कार्यक्रममा पनि फुटपाथ व्यवसायलाई नियन्त्रण गर्ने उल्लेख छ । काम गर्दा आलोचना आउनु स्वभाविक भन्दै उनले सडक अतिक्रमणलाई नियन्त्रण गर्ने काम महानगरले गरेको बताए । अतिक्रमण नियन्त्रण गर्दा एक पक्षलाई मर्का पर्ने र मर्का परेका पक्षबाट विभिन्न किसिमका नकारात्मक टीकाटिप्पणी हुनुलाई आफूले स्वभाविक रुपमा लिएको उनको भनाइ छ । फुटपाथ व्यवस्थापनका हिसाबले अहिले मानिसको आवागमन बढी हुने बिहान बेलुकीको समय भएकाले नगर प्रहरी त्यो नियन्त्रण गर्न केन्द्रित भएको उनले बताए । सडकमा व्यवसाय गर्नेबाट जफत गरिएका सामान लिलामी प्रक्रियामा जाने गरेको महानगरले जनाएको छ । सड्ने, गल्ने खाद्यवस्तु तथा तरकारी–फलफूल र प्रज्ज्वलन शील पदार्थलगायत सामानको भने जरिवाना तिराएर तत्काल सम्बन्धित व्यवसायीलाई नै फिर्ता गर्ने गरिएको र नबिग्रने सामग्रीको मात्र लिलाम गर्ने गरिएको छ । -रासस

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार