शनिबार, वैशाख ८ गते २०८१
Logo
शनिबार, वैशाख ८ गते २०८१

१ अर्ब ११ करोडमा बन्यो बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, प्रधानमन्त्री देउवाद्वारा उद्घाटन

१ अर्ब ११ करोडमा बन्यो बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, प्रधानमन्त्री देउवाद्वारा उद्घाटन

साझा पोष्ट
शनिबार, भदौ ११ २०७९
  • images
    १ अर्ब ११ करोडमा  बन्यो बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, प्रधानमन्त्री देउवाद्वारा उद्घाटन
    images
    बुटवल । अन्तर्राष्ट्रिय स्तरका सभा, सम्मेलन, र बैठक गर्न मिल्ने गरी बुटवलमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनेको छ । रामनगरस्थित बुटवलमण्डपमा ९ बिघा ६ कठ्ठा क्षेत्रफलमा फैलिएको सम्मेलन केन्द्रकाे एक समारोहबीच प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरे । १ अर्ब ११ करोड रुपैयाँ लागतमा शहरी विकास मन्त्रालयले सम्मेलन केन्द्र बनाएको हो । केन्द्रमा मुख्य सभाहलसहित करिब २ हजार मानिस अट्ने १३ वटा हल छन् । एक हजार जना हट्ने मुख्य सभाहलको नाम गौतमबुद्ध राखिएको छ । यो हल बालकोनी सहितको छ । त्यसमा आकर्षक तरिकाले कुर्सी र साउन्ड सिस्टम जडान गरिएको छ । आसपासमा अरु १२ वटा हल छन् । देवदह, तिलौराकोट, वागेश्वरी, रानीमहललगायत लुम्बिनी प्रदेशका पर्यटकीय क्षेत्रको नामबाट ती हलको नाम राखिएको छ । ती हलमा थप १ हजार ७ सय जना अट्न सक्छन । आधुनिक किसिमले बनाइएका हललाई आकर्षक किसिमले सिंगारिएको छ । सभाहल तथा प्रदर्शनी केन्द्र निर्माण कार्यान्वयन इकाईका प्रमुख धर्मेन्द्र पन्थीले सबै प्रकारका सम्मेलन, गोष्ठी र भीर्आइपी बैठक गर्न मिल्ने गरी तयार गरिएको जानकारी दिए । सम्मेलन केन्द्रमा राष्ट्रिय झण्डाको चन्द्रसूर्य आकारका २ वटा भवन छन् । चन्द्र आकारमुनि २ वटा ठूला हल छन् भने सूर्य आकारको भवनमा ११ वटा हल छन् । त्यसमा दुई वटा लेक्चर हल, ६ वटा मिटिङ हल, भीआईपी, भिडिओ अडियो, ट्रान्सलेटरलगायतका कक्षहरूको स्ट्रक्चर तयार पारिएको छ । यिनको निर्माणमा मात्रै २३ करोड रुपैयाँ खर्च भएको सभाहल तथा प्रदर्शनी केन्द्र निर्माण कार्यान्वयन इकाईले जनाएको छ । सम्मेलन केन्द्रको चारैतिर आकर्षक चारवटा प्रवेशद्वार बनाइएको छ । प्रवेश गर्ने र छुट्टाछुट्टै द्वार छन् । ती प्रवेश, निकास, भीआईपी र सर्भिसद्वार हुन् । केन्द्रभित्रै दुईतले भवनमा व्यवसायिक क्षेत्र, रेस्टुरेन्ट, बैंक एटीएम, खाजा घर र प्रशासनिक कामका लागि छुट्टाछुट्टै कोठा निर्माण गरिएको छ । सभाहलसँगै सटेर नर्थ र साउथ गरी दुई वटा बहुउद्देश्यीय भवन बनेका छन्। यी १ सय क्षमताका छन् । त्यसबाहेक दोस्रो २ वटा सर्भिस ब्लक, १ क्यान्टिन, १ ग्रिनहाउस, ६ जना बस्न मिल्ने स्टाफ क्वार्टरका लागि समेत भवन निर्माण गरिएको छ । कर्मचारीका लागि तीन तलाको छुट्टै आवास गृह छ । सम्मेलन केन्द्रबाहिर आकर्षक पानीका फोहोरासहितका पोखरी छन् । ती सबैमा चन्द्रसूर्य आकारका फोहोरा निस्कन्छन् । रातिमा राष्ट्रिय झण्डासहितको धुन बज्छन् । त्यही आकारमा लाइटिङ गरिएको छ । अन्तर्राष्ट्रिय स्तरबाट आएका पाहुनालाई नेपालीपन र राष्ट्रियता देखाउन यसो गरिएको हो । साना साना सुन्दर बगँैचा छन् । तिनलाई हरियाली बनाइँदै छ । बीचबीचमा रंगीन फूल रोपिने छ । सम्मेलन केन्द्रबाहिर खुला पार्किङ स्थल छ । त्यसमा चारपांग्रे ४ सय र दुई पांग्रे ४ सय गरी ८ सय गाडी पार्किङ गर्न सकिन्छ । ५ वर्षमा निर्माण सक्ने गरी २०७१ माघ १५ मा बुटवल सम्मेलन केन्द्र निर्माणको काम सुरु भएको थियो । ५ वर्षमा सक्ने भनिए पनि सम्मेलन केन्द्रको १ अर्ब ३ करोड रुपैयाँमा दुई चरणमा बाँडेर ठेक्का सम्झौता गरिएको थियो । निर्माण सक्दा ८ करोड लागत बढेको छ ।आसपासको क्षेत्रलाई बुद्ध जन्मस्थल लुम्बिनीसँग जोडेर लुम्बिनीमा पर्यटन प्रवर्द्धन गर्न र ग्रेटर लुम्बिनी क्षेत्रभित्र पूर्वाधार विकास गर्न भन्दै सम्मेलन केन्द्र निर्माण थालिएको थियो । यसका योजनाकार पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल हुन । उद्घाटन समाराेहमा प्रधानमन्त्रीसँगै गृहमन्त्री बालकृष्ण खाँण, सहरी विकास मन्त्री मेटमणि चौधरी तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललगायत उद्घाटन कार्यक्रममा सहभागी  थिए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार