Sajha Post
पशुपतिमा तीजको चहलपहल (तस्बिर सहित )
teej 1
nepatop
काठमाडौं । आज हिन्दू नेपाली महिलाहरूले हरितालिका तीज मनाइरहेका छन् । भाद्र शुक्ल तृतीयाका दिन भगवान शिवको आराधना गर्दै उल्लासपूर्वक मनाउने पर्व तीजका दिन पशुपतिनाथ मन्दिरमा महिलाको भीड लागेको छ ।दर्शनार्थीले छिटोभन्दा छिटो मन्दिरमा दर्शन गर्न सकून् भन्ने उद्देश्यले बिहान सवा तीन बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । मन्दिरका चार ढोका बेलुकी भक्तजन लाम लागेसम्म खुला गरिने जनाइएको छ। रातो, हरियो र पहेँलो पहिरनमा सजिएका महिला भक्तजनको पशुपति क्षेत्रमा भीड छ। बिहान मूल मन्दिर प्राङ्गणमा मात्र ब्रतालु लाम लागेका छन । बाहिरी क्षेत्रमा पनि भीड छ । पूजा एवं दर्शन गर्न आउने भक्तजनका लागि चार वटा मार्गको व्यवस्था गरिएको कोषले जनाएको छ। कोषले यस वर्षको हरितालिका (तीज)  पर्वका अवसरमा पशुपतिनाथको दर्शनमा आउने ब्रतालु भक्तजनका लागि सहज बनाउन नयाँ लामको व्यवस्था गरेको छ। कोटेश्वर–तीनकुने –सिनामंगल क्षेत्रबाट आउने भक्तजनका लागि तिलगंगा पर्यटक टिकट काउन्टर क्षेत्रबाट प्रवेश गरी राममन्दिर–आर्यघाट क्षेत्र हुँदै पूर्वी ढोकाबाट पशुपतिनाथ मन्दिर प्रवेश गर्ने व्यवस्था गरेको कोष संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशंकर पराजुलीले जानकारी दिए। पशुपतिनाथको बाहिरी मूलढोका भक्तजनका लागि २०६५ सालपछि यो वर्ष तीजमा पहिलोपटक खुला गरिएको हो। पशुपतिनाथको पुजारी प्रकरणपछि यो ढोका भक्तजनका लागि खुला गरिएको थिएन। यो मार्गबाट प्रवेश गर्ने भक्तजनको पनि पशुपति क्षेत्रमा घुइँचो छ। वर्तालु जुन ढोकाबाट भित्र प्रवेश गर्छन् त्यसै ढोकाबाट बाहिर निस्कने गरेका छन्। तीजमा दर्शन गर्ने भक्तजनका लागि यो सहित चार वटा लामको व्यवस्था गरिएको छ। दोस्रो लाम मित्रपार्क क्षेत्रबाट प्रवेश गर्न पाउने गरी व्यवस्था गरिएको छ। तेस्रो लाम गौशाला–पिंगलस्थान–पञ्चदेवल क्षेत्रबाट अघि बढ्ने व्यवस्था मिलाइएको छ।
प्रकाशित मिति: मंगलबार, भदौ १४, २०७९  ११:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update