बिहीबार , वैशाख १३ गते २०८१
Logo
बिहीबार , वैशाख १३ गते २०८१

समयसँगै बदलिँदै तीज

समयसँगै बदलिँदै तीज

साझा पोष्ट
मंगलबार, भदौ १४ २०७९
  • images
    समयसँगै बदलिँदै तीज
    images
    ‘जेलैमा हो जेलैमा, चरी जेलैमा, मै छोरी रुँदै रुँदै बेसी मेलैमा’ विष्णु माझीको स्वर रहेको यो तीज गीत यहाँका होटल र पार्टी प्यालेसमा निकै घन्कियो । निकै चर्चामा रहेको यो गीतमा पछिल्लो एक महिना बजारका पार्टी प्यालेसमा नाच्ने र रमाउनेको सङ्ख्या उल्लेख्य थियो । घरसँगै कार्यालयको पनि जिम्मेवारी भएका महिला यस्ता कार्यक्रममा देखिए । तीज आउनु एक महिना अघिदेखि नै बुटवल र भैरहवाका होटल तथा पार्टी प्यालेस कार्यक्रमका लागि बुकिङ भएका थिए । सरकारी र गैरसरकारी सङ्घ संस्थाले पनि संस्थागतरुपमै तीज कार्यक्रमको आयोजना गरे । बजारका साँघुरा घरमा जमघट हुन साह्रै गाह्रो हुने भएकाले पनि होटल र पार्टी प्यालेसमा तीज मनाउने क्रम बढेको हो भन्छिन्, बुटवल लक्ष्मी नगरकी माया पाठक । “अहिले महिला घरको काम गरेर अफिस पनि जानुपर्ने हुन्छ । यस्तो अवस्थामा घरमा चेलिबेटी बोलाएर समय दिन पनि गाह्रो । घरको काम गर्ने की नाच्नेगाउने, अब त पार्टी प्यालेस जानुको विकल्प छैन । यसलार्ई नराम्रो मान्न हुँदैन,” उहाँ भन्नुहुन्छ । सभ्य तरिकाले जहाँ बसेर पनि चाड मनाउन मिल्ने उनको बुझाइ छ । तीजमा माइती पक्षले चेलीलाई माइत बोलाउँछन् । माइती नहुनेका दिदीबहिनीलार्ई मावली र आफन्तले बोलाउने गर्छन् । चेलीबेटी बोलाउने र खुवाउनेक्रम जनै पुर्णिमादेखि सुरु हुन्छ । नाचगानको क्रम भने साउने सङ्क्रान्तिबाटै सुरु हुन्छ । त्यसपछि नागपञ्चमी, जनैपूर्णिमा र कृष्ण जन्माष्टमीमा पनि नाचगान गर्ने परम्परा छ । कृष्ण जन्माष्टमीको अघिल्लोे दिन पनि चेलीबेटीलार्ई माइती पक्ष तथा आफन्तले बोलाउने र दर खाने चलन छ । विशेष गरी हरितालिका तीजमा चेलीबेटीको जमघट हुन्छ । पहिले पहिले चेलीबेटी जम्मा भएर आफना पीर, व्यथा र बेदना गीतको माध्यमबाट व्यक्त गर्ने परम्परा रहे पनि अहिले भने बजारमा कलाकारले ल्याएका गीत बजाएरै नाच्ने क्रम बढ्दै गएको छ । “अहिले बसेर नाच्ने गाउने भन्ने चलन हराइसक्यो । कसले गीत निकाल्नु कसले मादल बजाउनु ? सबैलार्ई नआउने भएकाले गीत बजाएरै नाच्छौँ । मन परेका गीत बजायो नाच्यो । यही नै सजिलो लाग्न थाल्यो”, बुटवल जितगढीकी गिता आाचार्य भन्छिन् । वास्तवमा जन्मघर छोडेर माइतीमा जम्मा भएका चेलीले आफनो सुख दुःख गीतबाटै व्यक्त गर्ने रमाइलो पर्व हरितालिका तीज हो । जन्मघर छोडेर कर्मघर जाँदाको अनुभव तथा माइतीप्रति गुनासा तथा अपेक्षा गीतबाटै प्रस्तुत गरिन्थ्यो । तर, अहिले पूराना भाका सुनिन छाडेका छन् । पूराना आँगन चौताराको ठाउँ पार्टी प्यालेसले लिएपछि पूराना भाका पनि नयाँ गीत र रचनामा बदलिएका छन् भन्छिन्, प्राध्यापक इन्दिरा आचार्य । “पहिले तीजमा गाइने गीतले चेलीका भावाना र वेदनालार्ई समेटेका हुन्थे । माइतीप्रति चेलीको बिलौना र पीडालार्ई समेटेका हुन्थे । तीजका गीतले महिलामाथिको अन्याय अत्याचारका पीडालाई यसरी समेटेका हुन्थे । अबका दिनमा पनि तीजलार्ई अधिकारमुखी आन्दोलनसँग जोडेर लैजानुपर्छ”, आचार्य भन्छिन् । तीज नेपाली महिलाको महत्वपूर्ण पर्व हो । विशेष गरी हिन्दु महिलाका माझ प्राचीन कालदेखि नै लोकप्रिय रहेको तीज पर्व पछिल्लो समयमा सबै जाती र वर्गमा पनि प्रसिद्ध बनेको छ । सबै चेली जम्मा भएर सुखदुःख साटासाट गर्ने यो पर्व महिलाका लागि रमाइलो चाड हो । पछिल्लो समयमा तीज आधुनिकतातर्फ गए पनि यसको मौलिक संस्कृति विर्सन हुँदैन भन्छन्, धर्मगुरु जनार्दन न्यौपाने । “अधुनिकताका नाममा हाम्रो धर्म, संस्कृति र परम्परा विर्सनुहँुदैन । मौलिक संस्कृतिको रक्षा गर्नुपर्छ”, उनी भन्छन् । हिन्दू धार्मिक ग्रन्थअनुसार राजा हिमालयले छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन पार्वतीलार्ई मन नपरेपछि आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन् । उनले शिव लिङ्गको स्थापना गरी पानी पनि नपिइकन लामो समय निराहार व्रत बसिन् । यसरी पार्वतीको कठोर बर्तको कारण शिवजी प्रकट भई ‘चिताएको कुरा पुगोस्’ भनी आशीर्वाद दिएपछि शिव पार्वतीको विवाह हुन पुग्यो । त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो । सोही तिथिदेखि हिन्दू नारीले यस दिनलार्ई उत्सवका रूपमा मनाउन थालेका हुन् । संस्कृत शब्दको तृतीयाबाट बोलिचालीको भाषामा तीज हुन गएको हो । तीजलार्ई हरितालिका पनि भनिन्छ । ‘हरित’ को अर्थ हरण गरिएको र ‘आलिका’ को अर्थ साथी हुन्छ । भाद्र शुक्ल तृतीयाको दिन पार्वतीलार्ई विष्णुसँग निश्चय गरिएको विवाहबाट जोगाउन उनका खुसिले हरण गरेर लुकाएका कारण यस दिनलार्ई हरितालिका भनिएको हो । शिब पार्वतीको यसै दिन विवाह भएका कारण तीजलार्ई प्रणय दिवसका रुपमा लिइने संस्कृतिविद् राजेन्द्र आचार्य बताउहुन्छ । हिन्दु कथामा आधारित तीज अहिले पर्वका रुपमा विकसित भएको छ । पार्वतीको सिको गर्दै आफूले रोजेको वा असल पति पाउन विवाह नभएका महिला व्रत बस्न थाले । आफ्ना पतिको दिर्घायुका लागि विवाहीत महिला व्रत बस्ने गर्छन् । तीजको सम्बन्ध माइतीपक्ष र गीतसँग गाँसिएको छ । रासस

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार