फिल्म 'प्रकाश' प्रति शिक्षामन्त्री एवम् माओवादी नेता पौडेलको आपत्ति

काठमाडौं ।अहिले निकै चर्चामा रहेको फिल्म 'प्रकाश' को विषय वस्तुप्रति शिक्षामन्त्री देवेन्द्र पौडेलले आपत्ति जनाएका छन । 'प्रकाश' फिल्म राजनीतिक पूर्वागह राखेर निर्माण गरिएको पौडेलको आरोप छ ।
विश्वज्योति हलमा फिल्म हेरेपछि प्रतिक्रिया दिंदै मन्त्री पौडेलले फिल्ममा प्रयोग भएका कतिपय दृश्य र विम्ब राजनीतिक पूर्वाग्रहसहित राखिएको बताए ।
जनयुद्ध लडेर आएको पार्टीप्रति फिल्म लक्षित गरिएको भन्दै फिल्मले देखाएका केही दृश्यमा समेत आपत्ति जनाए । फिल्ममा कम्युनिस्ट पार्टीको झण्डा देखाइएको छ भने माओवादी युद्धको पृष्ठभूमि र बेपत्ता परिवारको प्रसंग पनि जोडिएको छ ।
माओवादी आन्दोलन लागेर शक्तिमा पुगेका पौडेलले फिल्ममा जुन स्थानको कथा देखाइएको हो त्यहींका जनताले यो कति यथार्थ हो भनेर फैसला गर्ने प्रतिक्रिया दिए । ‘फिल्मको अन्त्यमा जे देखाइयो त्यो हो कि होइन भन्ने कुरा जुम्लाका जनताले फैसला गर्ने कुरा हो,’ उनले भने ।
‘मैले फिल्म शिक्षकसँग भन्दा एउटा आस्थासँग सम्बन्धित देखें । राजनीतिसँग सम्बन्धित । त्यहाँ प्रस्तुत भएको विम्व, झण्डा, त्यसको सन्देश शिक्षासँगभन्दा पनि राजनीतिसँग सम्बन्धित भएर फिल्म प्रकट भएको मलाई महसुस हुन्छ ।’ पौडेलले फिल्म हेरेपछि भने ।
नेपालमा शिक्षाको स्तर फिल्ममा प्रस्तुत भएको भन्दा धेरै अघि बढेको बताउँदै मन्त्री पौडेलले सामुदायिक विद्यालयको अवस्था पनि सुधारिएको दाबी गरे ।। तर फिल्ममा देखाइएजस्तो समावेशीता र गरिबीको कुराप्रति ऐक्यबद्धता रहेको उनले बताए ।
दिनेश राउत निर्देशित फिल्ममा प्रदीप खड्का, दीया मास्के, रेणु योगी, राजन खतिवडा र प्रकाश घिमिरेको प्रमुख भूमिका छ ।
प्रकाशित मिति: आइतबार, भदौ १९, २०७९ १२:४१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय