शनिबार, वैशाख ८ गते २०८१
Logo
शनिबार, वैशाख ८ गते २०८१

संसद्मा राजेन्द्र लिङ्देनको अन्तिम भाषण: एक्लो होईन, बलियो भएर आउनेछु

संसद्मा राजेन्द्र लिङ्देनको अन्तिम भाषण: एक्लो होईन, बलियो भएर आउनेछु

साझा पोष्ट
आइतबार, भदौ १९ २०७९
  • images
    संसद्मा राजेन्द्र लिङ्देनको अन्तिम भाषण: एक्लो होईन, बलियो भएर आउनेछु
    images
    खासगरी जब चुनावको घोषणा भयो, त्यो दिन देखिनै राष्ट्रिय प्रजातन्त्र पार्टीको के धारणा थियो भने– निर्वाचन घोषणा भैसकेपछि संसद चलिराख्नु, संसद जीवित भैराख्नु उपयुक्त हुँदैन । त्यसमाथि पनि प्रजातन्त्रमा विश्वास राख्ने राजनीतिक दलहरुले निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र धाँधली रहित बनाउनका लागि सरकार समेत चुनावी सरकारमा परिणत गरेर अर्थात चुनावी सरकार बनाउनु उपयुक्त हुन्छ भन्ने धारणा थियो । तर संसदमा राष्ट्रिय प्रजातन्त्र पार्टीको जे उपस्थिति छ, आफ्नो धारणा राख्ने बाहेक निर्णयमा कुनै फरक पार्दैनथ्यो, प्रभाव पार्दैनथ्यो । पार्टीको अध्यक्ष पनि छु सानो पार्टीको अध्यक्ष हुनुको नाताले आउने चुनावमा संसदमा आफ्नो पार्टीको प्रभावकारी उपस्थिति बनाउनका लागि जनताको बीचमै जान बेसी समय खर्च गर्नुपर्छ, त्यसकारणले अब यो भत्ता पकाउनका लागि मात्रै अब संसद आईंदैन भनेर व्यक्तिगत रुपमा आउन पनि छोडेको थिएँ । तर पछिल्लो दिनमा जब संसदको आयू मंसिर ४ गतेपछि पनि कायम राख्ने भन्ने निर्णय प्रक्रिया प्रारम्भ भएका छन यसले मलाई असाध्यै लज्जित र दुःखीत तुल्यायो । त्यसकारण मैले बाटोबाटै संसद छोडें भनेर हिंड्नुको अर्थ हुँदैन, कमसे कम संसदमा उभिएर, सबैलाई सुनाएर जानु उपयुक्त हुन्छ भनेर म आज संसदमा उपस्थित भएको छु, र यहीँबाट घोषणा गर्न चाहान्छु कि म आजबाट सांसदको रुपमा अब उपस्थित हुने छैन मात्रै होईन, सम्माननीय सभामुख महोदयलाई म आग्रह गर्न चाहान्छु, सचिवालयलाई आग्रह गर्न चाहान्छु, मेरो नाममा पठाईने तलब भत्ता सुविधा समेत रोक्का गरियोस । कहीँ लेखेर दिनुपर्छ भने नियम अनुसार लेखेर दिन पनि तयार छु । यसप्रकारको अनैतिक काममा सहभागी हुन मेरो आत्माले मानेन, मेरो अन्तरआत्माको आवाज अनुसार यी सबै चिज त्याग गर्न यहाँ उपस्थित भएको छु । झण्डै पाँच वर्षको यो कार्यकालमा संसदमा थुप्रै अनुभवहरु भए एउटा पार्टीको एक्लो सदस्यको हिसाबले यहाँ उपस्थित हुँदा खेरि कयौं नीतिगत कुराहरुमा आफूलाई उपेक्षा गरिए जस्तो महशुस गरेपनि सबै दलका आम माननीय सदस्यहरुबाट जुनप्रकारको स्नेह, सदभाव प्राप्त गरेको छु त्यो मैले सधैं सम्झनेछु । सबैप्रति धन्यवाद तथा आभार व्यक्त गर्छु । कुनै पनि दलको माननीय सदस्यबाट उपेक्षाको व्यवहार महशुस गर्नुपरेन । फेरि पनि म दोहोर्याएर सबै माननीय सदस्यप्रति आभार व्यक्त गर्दछु । र, सबैलाई आगामी संसदमा विजयका लागि शुभकामना पनि व्यक्त गर्दछु । म पनि प्रयास गर्नेछु, एक्लो सांसद होईन बलियो पार्टीको रुपमा उपस्थित हुने र यसप्रकारका गलत निर्णयहरु हुन नदिने संकल्पका साथ जनताको बीचमा जाँदैछु । हामी सबैले आ–आप्नो ठाउँबाट प्रयत्न गरौं । आगामी दिनमा देशहित विपरितका अथवा आप्नो स्वार्थका लागि मात्रै, दलको स्वार्थका लागि मात्रै गर्ने यसप्रकारका निर्णयहरु आगामी संसदमा हुनेछैनन यसमा हामी सबैले संकल्प गरौं । समय दिनुभयो सम्माननीय सभामुख ज्यूलाई विशेष धन्यवाद दिन चाहान्छु । -राप्रपा अध्यक्ष एवं सांसद राजेन्द्र लिङ्देनल प्रतिनिधिसभामा व्यक्त गरेको विचारको सम्पादित अंश

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार