अपूर्व क्षितिजलाई थप पाँच दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति

काठमाडौं । नेवाः समुदायको भावनामा आँच पुर्याएको अभियोग लागेका कमेडियन अपूर्व क्षितिज सिंहलाई थप पाँच दिन हिरासतमा राख्न जिल्ला प्रहरी परिसर काठमाडौंले अनुमति पाएको छ ।
जिल्ला अदालत, काठमाडौंले सिंहविरुद्ध अनुसन्धानका लागि थप समय हिरासतमा राख्न अनुमति प्राप्त गरेको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।
प्रहरीले बिहीबार सिंहको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा लैजाने भएको छ । यसअघि अपूर्वका परिवार र नेवाः समुदायका अभियन्ताबीच छलफल भएर क्षमापत्र लेखाएर उनलाई छुटाउने प्रक्रिया अघि बढाउने सहमति भएको थियो ।
क्षमायाचना गरेर भिडियो हटाए पनि हिरासतमा राखिएको भन्दै क्षितिजको रिहाइको माग भइरहेको छ । सामाजिक सञ्जालदेखि संसदसम्म उनको रिहाइका लागि माग उठेको छ ।
संसदमा विशेष समय लिएर नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले आफ्नो हाँस्य कला प्रस्तुत गर्ने क्रममा कसैलाई मर्का परे पनि क्षमायाचनापछि थुनामा राखिएको भन्दै आपत्ति जनाए । उनले अपूर्वको रिहाईको माग गरे ।
कमेडी क्याफे नामक युट्युब च्यानलबाट अपलोड गरिएको ‘नेवारको परम्परा’ शीर्षकको सामग्रीमा अभियन्ताहरुले आपत्ति जनाएका थिए । नेवार समुदायको आक्रोश बढ्न थालेपछि क्षितिजले युट्युबबाट भिडियो हटाएका थिए ।
तर सम्पदा संरक्षण महाअभियानको नेतृत्वमा १०४ जनाको हस्ताक्षरसहित जिल्ला प्रहरी परिसर, टेकुमा किटानी जाहेरी दर्ता गराएका थिए । सोधपुछका लागि बोलाइएका अपूर्वलाई भदौ १२ गते अभद्र व्यवहारको कसूरमा पक्राउ गरेर हिरासतमा राखिएको छ ।
प्रकाशित मिति: बुधबार, भदौ २२, २०७९ १६:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय