
पोखरा । पोखरा महानगरपालिकाले पोखराको मुटु महेन्द्रपुलमा आफ्नै स्वामित्वमा रहेका सटरहरु भत्काएको छ।
सटर भत्काउँदा त्यहाँ रहेको आर्ट ग्यालरी तथा सार्वजनिक पुस्तकालयसमेत परेका छन । दुबै संरचना ती सटरको माथिल्लो तलामा थिए।यी दुई भवनमा २७ वटा सटर थिए। पोखरा महानगरले यी सटर भाडामा दिन दिएको सम्झौता ३ वर्षअघि नै सकिएको थियो।भाडा सम्झौता सकिएपछि पनि सटरका व्यवसायीले सटर नछाडेको र भाडा पनि नतिरेको पोखरामहानगरले जनाएको छ ।
सटरमा डोजर लगाउन पोखरा महानगरका मेयर धनराज आचार्य २ वटा डोजर लिएर पुगेका थिए।डोजर चलाउनुअघि सटर छाड्न सार्वजनिक सूचना दिएको र पटक पटक व्यवसायीलाई सटर छाड्न आग्रह गरेको उनले बताए।३५ दिने सूचनामार्फत् अवैध संरचना हटाउन र महेन्द्रपुलमा आफ्नै स्वामित्वमा रहेका सटर खाली गराउन महानगरपालिकाले निर्देशन दिएको थियो।
पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले संरचना भत्काउने काम एक महिनाभित्रै सक्ने र एक वर्षभित्र ठाउँमा पार्क र सेती खोंच हेर्ने पर्यटकीय केन्द्र बनाइने बताए ।त्यहाँ रहेको सार्वजनिक शौचालयलाई भने नयाँ रुपमा त्यही ठाउँमा राखिनेछ ।

प्रकाशित मिति: बिहीबार, भदौ २३, २०७९ ११:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय