Sajha Post
विश्वास
hemant

के हुन्छ...?! संगै सुत्ने श्रीमतीले ‘म तपाइँ बाट असुरक्षित छु’ भनिन् भने ?!

   

के हुन्छ...?! निधारमा टिका टाँसिदिंदा टाँसिदिंदै बैनीले दाजुको अनुहारमा कंश देखिन् र अत्तालिएर गुहार मागिन् भने ?!

 

के हुन्छ...?! रातो गुलाबको फूल भित्र प्रेमिकाले वीर्यको गन्ध पाइन् भने ?!

के हुन्छ...?! दूध चुसाइरहेकी आमाले नाबालिकाको घाँटीमा हात पुर्याउँदै भनिन् भने- ‘आखिर.. टोकिएर,ठोक्किएर लुछिएर,कुल्चिएर च्यातिएर,च्याँपिएर मक्किएर,भत्किएर शोषित भएर,बलात्कृत भएर..., एक दिन तँलाई तड्पी तड्पी मर्नु नै छ भने छोरी, म किन नदबाऊँ तेरो गला अहिले नै प्रेमपूर्वक’ ?!

के हुन्छ..?! आमाहरूको गला आमाकै हात बाट दब्न थाल्यो भने ?! प्रिय पुरुष मित्र, तिम्रो अंगको उत्तेजना थोरै घटाइदेऊ न है ! जगतमा थोरै विस्वास बढाइदेऊ न है !

-गिरिले केही वर्ष पहिले लेखेको यो कविता अहिले थप सान्दर्भिक लागेर प्रकाशन गरेका हौं । 

प्रकाशित मिति: शनिबार, भदौ २५, २०७९  १४:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update