Sajha Post
राष्ट्रपतिको बचाउमा ओली, सत्ता गठबन्धनले अपमान गरेको आरोप
kp oli
nepatop

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको चर्को विरोध भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बचाउमा उत्रिएका छन नागरिकता विधेयक प्रमाणीकरण नगरेको विषयमा सत्तारुढ गठबन्धनबाट आएको प्रतिक्रियाको ओलीले आलोचना गरेका छन् । पार्टी केन्द्रीय कार्यालयमा भएको कार्यक्रममा ओलीले सत्तारुढ गठबन्धनले राष्ट्रपतिको आलोचना गरेर अपमान गरेको आरोप लगाए । ओलीले नागरिकता विधेयकलाई पुनर्विचार गर्न भनेर राष्ट्रपतिले पठाउँदा सत्ता गठबन्धनले जस्ताको तस्तै पारित गर्ने कुरा गर्नु ठीक नभएको बताए । सत्तारुढ गठबन्धनले जनतालाई अल्मल्याइरहेको र मस्तिष्कबाट नभई 'मसल' बाट चलेको पनि उनको आरोप छ । 'राष्ट्रपतिज्यूले पुनर्विचार गर्ने कि भन्नुभयो । नगर्ने उहाँहरूको त्यस्तो विचार छ । बाहिर बसेर, अनाडी मान्छे भेला भएर, अनधिकृत ठाउँमा, संविधानले नचिनेका मान्छे बसेर राष्ट्रपतिको मजाक उडाउने काम भयो,ओलीले भने,'असभ्यता, कुसंस्कार, अलोकतान्त्रिक संस्कारको निर्लज्ज प्रयोग यो गठबन्धनले गरिरहेको छ । यसले आफ्नो महानता राष्ट्रपतिको अपमान गर्नु ठानेको छ ।' सत्तारुढ गठबन्धनमा अहंकार बढेको ओलीको भनाइ छ । उनले सरकारमा अहंकार बढ्यो भने तानाशाही हुने बताए । मंसिर ४ मा जनताले जवाफ दिने ओलीको भनाइ छ। मंसिर ४ मा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ । 'प्रधानन्यायाधीशलाई हाउस एरेस्ट किन ?' ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई विना पक्राउ पुर्जी नजरबन्द गरिएको र सुरक्षाकर्मी खोसिएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवासँग जवाफ मागेका छन । ‘स्वतन्त्र न्यायपालिका आज गठबन्धनको आज्ञापालक बनाइएको छ । प्रधानन्यायाधीश जबरालाई गैरकानूनी थुनामा राख्ने, हाउस एरेस्टमा राख्ने सोच्न सकिन्छ? ओलीले भने– प्रधानन्यायाधीशकी छोरीलाई पक्राउ गरेर दिनभर चौकीमा राखेर आतंकित पारिएको छ । आज एकजनालाई पर्‍यो भनेर बसियो भने यो समस्या भोलि सबै नागरिकमाथि पर्नेछ ।’ प्रधानन्यायाधीशको सुरक्षा गृहमन्त्रीको तजबिजबाट हटाइएको भन्दै यसबारेमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताए । गठबन्धनकै सभामुखले सात महिनासम्म महाअभियोग थन्क्याएर राखेको र अहिले संसदको समितिले त्यसलाई अस्वीकार गरेपछि प्रधानन्यायाधीशलाई हाउस एरेस्ट गरिएको ओलीको आरोप छ । ‘प्रधानमन्त्रीले जवाफ दिनुपर्छ, कुन कानूनअन्तर्गत प्रधानन्यायाधीशलाई विना पक्राउ पुर्जी नजबरन्दमा राखिएको हो रु तपाईंले लगाएको अभियोग संसदले वास्ता गरेन, गठबन्धनको सभामुखले गरेन ।' उनले भने- सात महिनासम्म वास्ता नगर्ने, अनि अहिले सेक्युरिटी, भान्से खोस्ने, इन्टरनेट काट्ने, पानीको पाइप काट्ने, के के गर्न जानुभयो ? लोकतन्त्रको नाम लिन सरम लाग्दैन ? ’

प्रकाशित मिति: बिहीबार, असोज ६, २०७९  १६:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update