शनिबार, वैशाख ८ गते २०८१
Logo
शनिबार, वैशाख ८ गते २०८१

एमालेको राष्ट्रघाती दृष्टिकोणमा राष्ट्रपतिको अभिनय

एमालेको राष्ट्रघाती दृष्टिकोणमा राष्ट्रपतिको अभिनय

साझा पोष्ट
शुक्रबार, असोज ७ २०७९
  • images
    एमालेको राष्ट्रघाती दृष्टिकोणमा राष्ट्रपतिको अभिनय
    images

    नागरिकता विधेयक राष्ट्रियता विरुद्ध 


    images
    images

    संसदले पारित गरेको नागरिकता विधेयक देशको राष्ट्रियताका विरुद्ध छ र त्यसैले नागरिकता अतिक्रमणलाई बढाउने छ भन्ने हाम्रो स्पष्ट र दृढ विचार छ । त्यसैले राष्ट्रिय जनमोर्चाले संसदभित्र त्यसका विरुद्ध आवाज उठाउन र २–२ पल्ट त्यसका विरुद्ध मतदान गर्नुका साथै त्यसका विरुद्ध हामीले देशव्यापी रुपमा आन्दोलन पनि गरेका थियौँ । त्यो विधेयक राष्ट्रघाती भएकोले त्यो विधेयक खारेज हुनुपर्छ भन्ने हाम्रो निश्चित मत छ । आगामी दिनमा पनि हामीले त्यसका विरुद्ध संघर्ष जारी राख्ने छौँ ।

    नागरिकतामा एमालेको दृष्टिकोण राष्ट्रघाती 

     हाम्रो यो पनि निश्चित मत छ कि अहिले एमालेले त्यसको विरोध गरेको जस्तो देखिएपनि वास्तवमा नागरिकताबारे त्यसको मूल दृष्टिकोण राष्ट्रघाती नै छ । एमाले सरकारले त्यसबारे जारी गरेको अध्यादेशबाट त्यो कुरामा कुनै शंका रहन्न । त्यसबारे अहिले राष्ट्रपतिले खेलेको भूमिकामा पनि इमान्दारिता नरहेको कुरा बुझ्न गाह्रो  पर्दैन । ओलीले त्यस सम्बन्धी अध्यादेश प्रस्तुत गर्दा उनले बिना कुनै आपत्ति त्यसलाई जारी गरेकी थिइन् । त्यो कुरामाथि विचार गर्दा अहिले उनले त्यसबारे प्रकट गरेको आपत्ति वा त्यो विधेयकलाई प्रमाणिकरण गर्न गरेको अस्वीकृति खालि एउटा अभिनय मात्र हो भन्ने कुरामा कुनै शंका रहन्न ।

    एमालेका पक्षमा जनमत तयार पार्ने राष्ट्रपतिको प्रयास 

    राष्ट्रपतिले अहिले नागरिकता विधेयकबारे जुन भिन्न विचार प्रकट गरेकी छन्, त्यसका पछाडिको उनको उद्देश्य के हो ? त्यसप्रति हाम्रो पार्टीको गम्भीर ध्यान गएको छ । यो कुरा त दिनको उज्यालो झैँ छर्लङ्ग छ कि नागरिकता विधेयकप्रति एमाले वा राष्ट्रपतिको कुनै विरोध छैन । तैपनि उनीहरुले त्यस प्रकारको अभिनय गर्नुको कारण के हो ? त्यसका दुईवटा उद्देश्य हुन सक्दछन्: प्रथम, नागरिकता सम्बन्धी राष्ट्रघाती आत्मघाती अध्यादेश जारी गरेकोले तथा संसदमा प्रथमपल्ट नागरिकता विधेयकबारे मतदान हुँदा एमालेका सांसदहरु मौन बसेकाले उनीहरुका विरुद्ध जुन जनमत तयार भएको छ, त्यसका विरुद्ध त्यसलाई हटाएर चुनावमा एमालेको पक्षमा जनमत तयार पार्नु । द्वितीय, नागरिकता विधेयकको आडमा देशलाई प्रतिगमनको दिशामा लैजानु । राष्ट्रपतिको नागरिकता विधेयक सम्बन्धी भूमिकाको वास्तविक उद्देश्य के हो ? सायद आउने केही दिनमा प्रष्ट हुँदै जाने छ । तर त्यो कुरा जे भए पनि उनको उद्देश्य नागरिकता विधेयकका राष्ट्रघाती प्रावधानहरूलाई वास्तविक रुपमा खारेज गर्ने नभएर अन्ततः तिनीहरुलाई पारित गर्ने नै भएको कुरा प्रष्ट छ । हाम्रो ध्यान नागरिकता विधेयकबारे अहिलेको उनको भूमिका भन्दा बढी त्यसका पछाडिको उनको उद्देश्य के हो ? त्यो कुराप्रति बढी छ । उनले उठाउने कुनैैपनि प्रतिगामी कदमको सम्झौताहीन प्रकारले विरोध गर्ने हाम्रो नीति हुनेछ ।

    राष्ट्रपति र ओलीबाट चुनावामा बाधा पुर्याउने संभावना

    यो कुरा स्पष्ट हुँदै आएको छ कि राष्ट्रपतिले आफ्नो  संवैधानिक पदको दुरुपयोग गरेर बारम्बार ओलीका प्रतिगामी कदमहरुलाई समर्थन गर्दै आएकी छिन् । संसदमा ओली अल्पमतमा परिसकेपछि पनि उनलाई प्रधानमन्त्री नियुक्त गरेर उनकै सुझाव अनुसार संसदको विघटन त्यसको एउटा ज्वलन्त उदाहरण हो । अहिले नागरिकता विधेयकबारे उनले खेलेको भूमिका पनि ओलीको निर्देशन अनुसार नै भएको कुरा प्रष्ट छ । ओलीले देशलाई प्रतिगमन र अधिनायकवादको दिशामा लैजानको लागि योजनावद्ध प्रकारले काम गरिरहेका छन् । अब उनले यो बुझिसकेका छन् कि पाँच दलीय चुनावी तालमेलका कारणले चुनावमा बहुमत प्राप्त गर्न उनीहरुका लागि सम्भव छैन । त्यो अवस्थामा चुनाव भन्दा अर्को कुनै बाटो अपनाएर वा चुनावलाई नै बाधा पुर्याएर ओलीले आफ्नो प्रतिगामी उद्देश्य पूरा गर्ने प्रयत्न गरे भने त्यो पनि आश्चर्यको कुरा हुने छैन । त्यसको लागि उनले राष्ट्रपतिलाई असंवैधानिक प्रकारको दुरुपयोग गर्ने प्रयत्न गरे भने पनि त्यो आश्चर्यको कुरा हुने छैन ।

    -लेखक नेकपा (मसाल)का महामन्त्री हुन् । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार