Sajha Post
टिकट बाँडफाँड र समानुपातिक सूचिमा कांग्रेसमा भाँडभैलो,  संस्थापनइतर समूहले बोलायो खबरदारी भेला

काठमाडौं । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट बाँडफाँडलाई लिएर कांग्रेसभित्र तिब्र असन्तुष्टि सुरु भएको छ । संस्थापन पक्षले न्यायोचित ढंगले समानुपातिक सूची नबुझाएको भन्दै इतर समूह असन्तुष्ट देखिएको हो । 

संस्थापन पक्षमाथि दबाब बनाउन इतर समूहले भेला नै आह्वान गरेको छ । इतर समूह समानुपातिक सूची सच्याउन र प्रत्यक्षतर्फको टिकट वितरणमा सभापति शेरबहादुर देउवालाई दबाब बढाउने रणनीतिमा लागेको छ । यो समूहले खबरदारी सभा बोलाएको छ । 

४० प्रतिशत टिकट आफ्नो पक्षका नेता–कार्यकर्ताले पाउनुपर्ने माग गर्दै हिजो स्वयम्भूमा बसेको इतर समूहका नेताको बैठकले भेला बोलाउने निर्णय गरेको थियो । भेला आज दिउँसो १ बजे थापागाउँस्थित बानेश्वर बैंक्वेटमा बोलाइएको छ । बन्दसूची पेस गर्दा संस्थापनइतर समूहको नामावली निर्वाचन आयोगमा बुझाइएको छैन । 

nepatop

भेलाले समानुपातिकको सूची सच्याउन दबाब दिने र प्रत्यक्षतर्फको टिकट वितरणमा आफ्नो समूहलाई समेट्न दबाब बढाउन लागिएको नेताहरूले बताएका छन् ।  भेलामा प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तल्लो तहबाट सिफारिस भएका सहभागी हुने बताइएको छ । टिकट सिफारिस भएपछि धेरैजसो आकांक्षी काठमाडौंमै छन् । 

बन्दसूची पेस गर्ने क्रममा इतर समूहसँग सल्लाह नगरी सभापति देउवा पक्षले एकपक्षीय रूपमा आयोगमा सूची बुझाएको इतरको आरोप छ । इतरले तालमेल गरेर जाँदा कांग्रेसले सय सिटभन्दा कम सिट लिन नहुने र कांग्रेसले पाउने सिटको ४० प्रतिशत आफ्नो समूहले पाउनुपर्ने माग राख्दै आएको छ । इतर समूहको नेतृत्व नेता डा शेखर कोइराला, महामन्त्री गगन थापा लगायतले गरेका छन् । 

प्रकाशित मिति: शनिबार, असोज ८, २०७९  ०९:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update