
काठमाडौं । कप्तान लियोनेल मेस्सीले दुई र लोउटारो मार्टिनेजले एक गोल गरेपछि अर्जेन्टिनाले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा होण्डुरससमाथि सहज जित निकालेको छ ।
अर्जेन्टिनाले होन्डुरसलाई ३–० ले पराजित गर्यो । हार्ड रक स्टेडियम मियामी गार्डेन्स फ्लोरिडामा शनिबार बिहान भएको खेलको १६औं मिनेटमा मार्टिनेजको गोलमा अर्जेन्टिनाले अग्रता लिएको थियो ।
पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा मेस्सीले पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारे । राहुल सान्तोषले जियोभानी लो सेल्सोलाई पेनाल्टी बक्समा फउल गरेपछि रेफ्रीले अर्जेन्टिनालाई पेनाल्टी दिए र त्यसमा मेसी चुकेनन ।
६९औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै अर्जेन्टिनाको जित पक्का गरे । इन्जो फर्नान्डेसको पासमा मेस्सीले झन्डै २५ यार्डबाट प्रहार गरेको बलले जाली चुम्यो ।
अर्जेन्टिनाले आगामी नोभेम्वर डिसेम्वरमा कतारमा हुने फिफा विश्वकप कतार २०२२ को अन्तिम तयारीस्वरुप मैत्रीपूर्ण खेल खेलेको हो । अब उसले अन्तिम मैत्रीपूर्ण खेल जमैकासँग बुधबार बिहान खेल्नेछ ।