
काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला समूहले समान अवसर र न्यायको माग गर्दै पार्टी कार्यालय सानेपामा धर्ना दिएको छ ।
समानुपातिक बन्दसूची सच्याउन र आफ्नो पक्षलाई प्रत्यक्षतर्फ न्यायोचित सिट दिन माग गर्दै बुधबार १२ बजेदेखि १ बजेसम्म कोइराला पक्षले धर्ना दिएको हो ।
जगदीश्वरनरसिंह केसी, गुरुराज घिमिरे, भूपेन्द्रजंग शाही, मनोजमणि आचार्य सहित पार्टीको केन्द्रीय जिम्मेवारीमा नरहेका कोइराला पक्षका नेताहरु धर्ना कार्यक्रममा सहभागी भए। संस्थापन पक्षले समानुपातिक बन्दसूची बनाउँदा एकलौटी गरिएको भन्दै कोइराला पक्ष गत शुक्रबारदेखि आन्दोलनमा छ । शनिबार खबदारीसभा गरेको समूहले आन्तरिक छलफल पनि गरिरहेको छ ।
समानुपातिक बन्दसूची नसच्चिए देशभर स्वतन्त्र उम्मेदवारी दिने कोइराला पक्षको चेतावनी छ । कोइराला पक्षको विरोधपछि समानुपातिक बन्दसूची सच्याउने सभापति शेरबहादुर देउवाले आश्वासन दिएका छन् ।
मंगलबार बसेको पदाधिकारी बैठकमा देउवाले सबैलाई समेटेर जान आफू तयार रहेको भन्दै बन्द सूची सच्याउन सकिने बताएका थिए ।