Sajha Post
आजदेखि खाद्यले खसीबोका बेच्‍न थाल्यो 

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आजदेखि दशैंका लागि खसीबोका  बेच्‍न सुरू गरेको छ । खाद्यका खसीबोका अरु भन्दा प्रतिकिलो ५० रुपैयाँसम्म सस्तो छ ।

खसीको बिक्री मूल्य प्रतिकिलो ६ सय ८० रुपैयाँ तोकिएको कम्पनीका बिक्री वितरण विभाग प्रमुख भीम थापाले जानकारी दिए । यसमा  १० रुपैयाँ छुट दिइनेछ । त्यस्तै, च्याङग्राको मूल्य १२ सय ६० रुपैयाँ निर्धारण गरिएको छ । प्रतिकिलो १० रुपैयाँ छुटसहित उपभोक्ताले १२ सय ५० रुपैयाँमा किन्न पाउनेछन् ।

सरकारले सहुलियत दरमा बिक्री गर्ने खसीबोकाको मूल्य प्रतिकिलो ६७० रुपैयाँ तोकेको छ । बुधबारदेखि बिक्री गर्ने गरी प्रतिकिलो ६८० रुपैयाँ निर्धारण गरिएकामा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सहुलियतस्वरूप थप १० रुपैयाँ छुट दिएर ६७० रुपैयाँ तोकेको हो ।

चौपाया खरिद बिक्री सेवा संघले मंगलबार लोकल खसीबोकाको मूल्य प्रतिकिलो ६ सय ८० देखि ७ सय १० रुपैयाँ तोकेको थियो । च्याङग्रा प्रतिकिलो १३ सय रुपैयाँ पर्ने संघले जनाएको छ । दसैंका लागि खाद्य कम्पनीसँगै व्यावसायिक संघ–संस्थाले पनि खसीबोका र च्याङ्ग्रा खरिद प्रक्रिया सुरु गरेका छन् ।

कम्पनीले दार्चुला, मकवानपुर लगायत स्थानबाट खसीबोका, च्याङ्ग्रा भित्र्याइरहेको छ भने व्यावसायीहरूले सल्यान, सुर्खेत, बैतडी, डडेलधुरा, मकवानपुर, रामेछापलगायत जिल्लाबाट खसीबोका ल्याउने तयारी गरेका छन् । 

khasi boka1664353856.jpg

khasi boka 11664353884.jpg

 

प्रकाशित मिति: बुधबार, असोज १२, २०७९  १४:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update