बिहीबार , वैशाख १३ गते २०८१
Logo
बिहीबार , वैशाख १३ गते २०८१

दुई चुनावी मोर्चा: वैचारिक शुन्यताको होडबाजी

दुई चुनावी मोर्चा: वैचारिक शुन्यताको होडबाजी

आगामी मंसिर–४ मा हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनका लागि सबै दलीय तथा स्वतन्त्र उम्मेदवार अब मत प्राप्तिका लागि जनतामा आउन लागीसकेका छन् । तर यी सबै दलको राजनीतिक एवम् जनपक्षीय एजेण्डा भने केही पनि छैन । खाली एकले अर्काेलाई सराप्ने, गाली गलौज गर्ने भन्दा अरु केही गर्ने देखिदैन । आआफ्ना सारा विचार, सिद्धान्त र नीति त्यागेर खाली उम्मेदवार कसरी बन्ने र पद कसरी जित्ने भन्नेमै सबै तल्लीन छन् ।

साझा पोष्ट
शनिबार, असोज २९ २०७९
  • images
    दुई चुनावी मोर्चा: वैचारिक शुन्यताको होडबाजी
    images

    आज कांग्रेस भोलि एमाले अनि आज एमाले भोलि कांग्रेस । त्यस्तै आज माओवादी भोलि मधेसी दल । रातारात सबै जे पनि हुन सक्ने यो कस्तो राजनीति हो ?


    images
    images

    आगामी मंसिर–४ मा हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनका लागि सबै दलीय तथा स्वतन्त्र उम्मेदवार अब मत प्राप्तिका लागि जनतामा आउन लागीसकेका छन् । तर यी सबै दलको राजनीतिक एवम् जनपक्षीय एजेण्डा भने केही पनि छैन । खाली एकले अर्काेलाई सराप्ने, गाली गलौज गर्ने भन्दा अरु केही गर्ने देखिदैन । आआफ्ना सारा विचार, सिद्धान्त र नीति त्यागेर खाली उम्मेदवार कसरी बन्ने र पद कसरी जित्ने भन्नेमै सबै तल्लीन छन् ।

    स्वतन्त्र उम्मेदवारमा त के को नीति हुन्छ र ? उनीहरुमा यस्तो हुनु स्वाभाविक नै छ । राजनीतिक दलहरु त एउटा निश्चित विचार र सिद्धान्तबाट निर्देशित हुन्छन् र हुनुपर्दछ । त्यही अनुसार नीति र कार्य योजना बन्नुपर्दछ । त्यसैको आधारमा निर्वाचनमा गईन्छ र जिते त्यसलाई लागू गरिन्छ । तर यसपटकको दलीय निर्वाचनमा यो कसैमा पनि देखिदैन । यस्तो वैचारिक शुन्यतामा गरिने यो निर्वाचनको परिणामले देश र जनताको कत्ति पनि हित हुने देखिदैन । त्यसैले यो निर्वाचन देश र जनताका लागि खाली ‘हात्ती आयो फुस्सा’ भने जस्तै भएको छ ।


    आज दल बदलको होडबाजी नै चलेको छ । रातारात एक दलबाट अर्काे दलमा हाम फाल्नेहरुको लर्काे नै लागीरहेको छ । आआफ्नो विचार, सिद्धान्त अनि निष्ठा र नैतिकता यी कसैमा पनि देखिएन । कहाँ गएर के पाइन्छ ? पद, प्रतिष्ठा र कुर्सी नै यी सबैको एक मात्र उद्देश्य छ । आज कांग्रेस भोलि एमाले अनि आज एमाले भोलि कांग्रेस । त्यस्तै आज माओवादी भोलि मधेसी दल । रातारात सबै जे पनि हुन सक्ने यो कस्तो राजनीति हो ? व्यक्तिगत रुपमा केही कार्यकर्ता अनि नेतामा त्यस्तो स्वार्थी र अवसरवादी चरित्र देखिनु स्वाभाविक नै होला । तर मुख्य दलकाे नेतृत्वबाट नै यसलाई ठूलो मलजल गर्ने काम भइरहेको छ । एमाले ओली, नेका देउवा अनि माओवादी केन्द्रका प्रचण्डको मुख्य धन्दा नै यही भएको छ । कहाँ, कसलाई कसरी आआफ्नो दलमा हुल्न सकिन्छ ? यी सबैको मुख्य दैनिकी नै यही भइरहेको छ । दलीय राजनीतिक नेतृत्वमा यस्तो स्वार्थी र अवसरवादी चरित्र बनिसकेपछि अब देश र जनताले यिनीहरुलाई के पाउने ? अनि यस्ता दलहरुले चुनाव जिते पनि जनताले के पाउने ? खाली यिनीहरुबाट पाउने भनेको राष्ट्रघात र जनघात नै हो ।
    प्रायः यी सबै संसदीय दलहरुमा परिवारवाद अनि व्यक्तिवाद र आसेपासे दलालहरु र गिरोहको विगविगी छ । आआफ्नो व्यक्तिगत नेतृत्वको रक्षाको लागि यस्तो गर्नु यिनीहरुको बाध्यता पनि छ । राजनीतिक र वैचारिक धरातलबाट ओरालो लाग्ने पछि सबैमा यस्तै हुन्छ । ओरालो लागेको मृगलाई बाच्छाले पनि लखेट्छ भने जस्तै सबै यी नेताहरुमा यसैको भय छ । आफ्नै तल्ला नेता कार्यकर्ताबाट यी डराइरहेका छन् । आआफ्ना कार्यकर्ता र तल्ला नेताहरुप्रति यिनीहरुको विश्वास नै छैन । यस पटकको निर्वाचन उम्मेदवार चयनमा समेत यस्तै परिवारवाद र गुटवाद हावी भयो ।

    ने.का. देउवाले आफ्नी पत्नी आरजुलाई समानुपातिक सूचीमा राखे भने प्रचण्डले आफ्नो बुहारी, आफ्ना छोरी ज्वाइँलाई उम्मेदवार बनाए । यसबाट कांग्रेसका धेरै नेताहरुलाई पाखा लगाइयो । डा. मिनेन्द्र रिजाललगायतका केही कांग्रेसी नेतामाथि  देउवाको वक्रदृष्टि पर्यो । त्यस्तै माओवादी केन्द्रका हरिबोल गजुरेल र लेखनाथ न्यौपानेप्रति प्रचण्डअनि एमालेका भीम रावल र घनश्याम भुसालप्रति ओलीबाट प्रतिसोध साँध्ने काम भयो । यसको बदलामा कांग्रेस–एमाले र माओवादी केन्द्रका थुप्रै नेता वागी उम्मेदवार नै बनेका छन् । अझ विचित्र त के छ भने यस्ता वागी उम्मेदवारलाई एकले अर्कालाई सघाउने काम पनि यिनीहरुबीच भइरहेको छ । चितवनमा कांग्रेसी वागी उम्मेदवारलाई एमाले भने रुपन्देहीमा कांग्रेस–माओवादी केन्द्रले एमाले वागी उम्मेदवारलाई सघाउने गरी आफ्ना पार्टी उम्मेदवारहरुलाई हटाइएको स्थिति छ । त्यसैले यो निर्वाचनमा यी दलहरुको नौटंकी र गन्दा खेलभन्दा अरु केही देखिदैन ।
    यो निर्वाचन मुख्य गरेर कांग्रेसी मोर्चा र एमाले मोर्चाबीच प्रतिस्पर्धा हुने देखिन्छ । आफ्ना सारा विचार, सिद्धान्त र नीति–कार्यक्रमलाई परित्याग गरेर माओवादी केन्द्र अनि मसाल कांग्रेसी मोर्चामा लम्पसार भएका छन् भने त्यस्तै राप्रपा र जसपा एमाले मोर्चामा । आफ्नो पुरानो मोर्चा छोडी जसपा एमाले मोर्चामा र लोसपा कांग्रेसी मोर्चामा । अन्ततः यी मधेसवादी दलहरुले पनि आफ्नो पुरानो मधेसवादी नीति त्याग गर्दै सबै कोही कांग्रेसकाे भने कोही एमालेको पिछलग्गु भएका छन् । मधेसी जनताले यो बुझ्ने बेला आएको छ । राप्रपा जस्तो पुरानो पञ्चे र प्रत्यक्ष राजावादी दललाई समेत एमालेले समेटेर चुनावी उम्मेदवार बनाउँदै हिडेको छ । हिजोका पञ्चे दरबारिया खुन्खार मण्डले–गुण्डा दीपक बोहरालाई रुपन्देही –३ मा एमालेले सघाउने भएको छ । आखिर को गुण्डा को मण्डले, को मधेसी, को पहाडिया । को पञ्चे, राजावादी अनि को कांग्रेसी को माओवादी र को मसाले सबै एउटै भएका छन् । हिजोे २०४६ पछि कांग्रेसी नेता गिरिजाले माले–मसाले र मण्डले एउटै हुनभन्दा प्यूठानमा मसालबाट लखेटिए । तर अहिले त्यही मसाल त्यही कांग्रेसी नेतृत्वको मोर्चाबाट यो निर्वाचन लड्दै छ । यो मसालका ती इमानदार कार्यकर्ता र नेताहरुले सम्झने कि नसम्झने ?
    त्यसैले अन्त्यमा यो निर्वाचन खाली माथि भने जस्तै एउटा संसदीय नौटंकी जस्तै भएको छ । यसैमा माथि बताइएका दलहरु रमाउन थालेका छन् । तर खास दुःख कष्ट, अन्याय, अत्याचार, रोग–भोक, बेरोजगारी आदिबाट सताइए नेपाली जनताका लागि यो निर्वाचन कागलाई बेल पाक्यो न हर्ष न विस्मात भने जस्तै हुनेछ । त्यसैले कतिपय कम्युनिष्ट पार्टीहरुले यो निर्वाचनलाई बहिष्कार गर्ने भनेका छन् भने धेरै जनताले ‘नो भोट’ भन्न थालेका छन् । ऋषि धमलाले आयोजना गरेको एउटा टेलिभिजन कार्यक्रममा झापाका थुप्रै जनताहरुले ‘नो भोट’ को नारा जुलुस नै लगाए । त्यस्तै नारा, जुलुस अरु जिल्ला र शहर, गाउँबस्तीमा चारैतिर लगाउने स्थिति भइरहेको छ ।

    -लेखक वामपन्थी बुद्धिजीवी हुन् । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार