शनिबार, वैशाख ८ गते २०८१
Logo
शनिबार, वैशाख ८ गते २०८१

   विशेष महाधिवेशन वा फुटपरस्त गतिविधि ?

   विशेष महाधिवेशन वा फुटपरस्त गतिविधि ?

साझा पोष्ट
सोमबार, कात्तिक ७ २०७९
  • images
       विशेष महाधिवेशन वा फुटपरस्त गतिविधि ?
    images

    १. हाम्रो पार्टीका पुटपरस्त वा पार्टीबाट निष्काशित तत्वहरूले विशेष महाधिवेशन गरेका समाचारहरू सामाजिक सञ्जालमा आएका छन् र त्यो वास्तवमा विशेष महाधिवशेन नै हैन र एउटा फुटपरस्त र अवैध गतिविधि मात्र हो । पार्टीको विधानमा विशेष महाधिवेशनको अवश्य पनि व्यवस्था गरिएको छ । त्यसका लागि एउटा प्रक्रिया पनि निर्धारित गरिएको छ । जो तल लेखिए अनुसार छ । 
    २ पार्टीको विधानको अध्याय : ४ धारा १० मा लेखिएको छ : “पार्टीको महाधिवेशन प्रत्येक ५ वर्षमा १ पटक गरिने छ । तर विशेष परिस्थितिमा भने तोकिएको समयभन्दा १ वर्ष अघि वा पछि पनि गर्न सकिने छ । त्यो मितिमा पनि महाधिवेशन हुन नसक्ने अवस्था भएमा राष्ट्रिय सम्मेलन वा कमसेकम केन्द्रीय समितिको विस्तारित बैठक गरेर त्यसका लागि स्वीकृति लिने नीतिलाई अनिवार्य गरिने छ । विशेष अवस्था सम्झी पार्टीको सम्पूर्ण सदस्य संख्याको एक तिहाई सदस्यहरू वा बहुमत जिल्ला समितिहरूले केन्द्रीय समितिसित महाधिवेशन बोलाउन अनुरोध गरेको खण्डमा लिखित अनुरोध गरेको मितिले नै ९ महिनाभित्र महाधिवेशन गर्नुपर्ने छ । विशेष महाधिवेशनको आवश्यकता महशुस गरी कुनै जिल्ला समिति वा जिल्ला संगठन समितिले विशेष महाधिवेशनको माग गर्न सक्ने छ । यस्तो माग आएपछि केन्द्रले आफ्नो राय सहित जिल्लाको मागलाई पार्टीभित्र परिपत्र गरी राय माग गर्ने छ । परिपत्र गरेको ३ महिनाभित्र सबै जिल्लाहरूले केन्द्रमा आफ्नो राय पठाइसक्नुपर्ने छ । सबै जिल्लाहरूको राय आइसकेपछि बहुमत जिल्ला समितिहरू वा एक तिहाइ सदस्यहरूले महाधिवेशनको पक्षमा मत प्रकट गरेमा केन्द्रीय समितिले ९ महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने छ । त्यस्तो महाधिवेशनको बारेमा फैसला भएको मितिले १ वर्षसम्म विशेष महाधिवेशनको माग गर्न मिल्ने छैन ।” तर फुटपरस्त तत्वहरूले विधानमा व्यवस्था गरिएको त्यस प्रकारको कुनै प्रक्रियामा नगइकन विशेष महाधिवेशन गरेको कुरा बताएका छन् । त्यसकारण उनीहरूको त्यो सम्पूर्ण प्रक्रियाले पार्टीको विधानसित मेल नखाने भएकाले त्यो कथित विशेष महाधिवेशन अवैध, अनुशासनविहिन र फुटपरस्त गतिविधि मात्र भएको कुरा प्रष्ट छ । 
    ३. उनीहरूले भिन्न मत राखेका पार्टीका सदस्यहरूलाई आफ्नो मत प्रकट गर्ने अवसर नदिएको हुनाले वा भिन्न मत राखेकै कारणले पार्टीबाट कारबाही गर्ने समेत गरेको हुनाले उनीहरूले पार्टीबाट विद्रोह गरेको बताएका छन् । तर उनीहरूको त्यो दाबी निराधार र असत्य भएको कुरा प्रष्ट छ । पार्टीमा आठौँ महाधिवेशनको बेलामा भिन्न मतहरू देखा परेका थिए र तिनीहरूबारे पार्टीभित्र तलसम्म नै व्यापक रूपले दुई लाइनको सङ्घर्ष चलेको थियो र महाधिवेशनमा पनि १ हप्ता सम्म त्यसबारे छलफल चलेको थियो । अन्तमा महाधिवेशनमा प्रस्तुत गरिएका २ वटा दस्तावेजहरू मध्ये संस्थापन पक्षको दस्तावेजलाई बहुमतले पारित गरेको थियो । 
    ४. पार्टीको विधानमा गरिएको व्यवस्था अनुसार पार्टीभित्र भिन्न मतहरू राख्न पाइन्छ तर महाधिवेशनले बहुमतले निर्णय गरेपछि आफ्नो भिन्न मतलाई सुरक्षित राख्दै महाधिवेशनको बहुमतले गरेको निर्णयलाई मानेर जानुपर्दछ त्यही जनवादी केन्द्रीयता हो र लेनिनको छलफलमा स्वतन्त्रता र काममा एकताको अर्थ पनि त्यही हो । तर फुटपरस्त तत्वहरूले महाधिवेशनमा आÇनो मतको पराजय भएपछि उनीहरूले महाधिवेशनको निर्णयलाई दक्षिणपन्थी बताएर त्यसको विरोध गर्दै तथा पार्टीभित्र पनि त्यसका विरूद्ध गर्ने काम गरे । त्यसरी वास्तविक कुरा यो कि हाम्रो पार्टीले भिन्न मतलाई दबाएको वा भिन्न मत राख्नेहरूलाई कारबाही गरेको भन्ने कुरा पूरै निराधार र असत्य हो । तर फुटपरस्त तत्वहरूले पार्टीको विधान र जनवादी केन्द्रीयताको सिद्धान्त अनुसार महाधिवेशनको बहुमतको निर्णयलाई समेत नमानेको हुनाले नै उनीहरूमाथि हामीले कारबाही गर्नुपरेको हो । 
    ५. उनीहरूले पार्टीको सातौँ महाधिवेशनको निर्णय सहितको तर आठौँ महाधिवेशनले सातौँ महाधिवेशनले पारित गरेको निर्णयलाई बदलेको हुनाले त्यसले दक्षिणपन्थी दिशा समातेको बताएका छन् । तर उनीहरूको त्यो आलोचनामा कुनै औचित्यता छैन । प्रथम, कुनै पनि महाधिवेशनलाई पहिलेका महाधिवेशनका निर्णय वा नीतिहरूलाई, यहाँसम्म कि कार्यक्रम र विधानमा समेत परिवर्तन गर्ने अधिकार हुन्छ । द्वितीय, जहाँसम्म आठौँ महाधिवेशनको प्रश्न छ, त्यसले सातौँ महाधिवेशनले पारित गरेको कुनै महत्वपूर्ण नीति वा निर्णयमा परिवर्तन गरेको छैन । सातौँ महाधिवेशनले शान्तिपूर्ण संघर्षलाई नै आन्दोलनको प्रधान पक्ष बताएको थियो । आठौँ महाधिवेशनले पनि त्यही प्रकारको निर्णय गरेको छ । चुनावलाई उपयोग गर्ने सातौँ महाधिवेशनको निर्णयलाई पनि आठौँ महाधिवेशनले यथावत राखेको छ । फुटपरस्त तत्वहरूले पनि शान्तिपूर्ण आन्दोलनलाई नै अहिलेको आन्दोलनको प्रधान पक्ष भनेर स्वीकार गरेका छन् । उनीहरूको चितवन भेलाले चुुनावको उपयोग गर्ने निर्णय गरेको थियो र त्यस अनुसार स्थानीय चुनावलाई उनीहरूले उपयोग पनि गरेका थिए । तर त्यो चुनावमा उनीहरूको ठूलो हार भएको हुनाले र अहिले पनि चुनावमा जित्ने कुनै सम्भावना नदेखेको हुनाले नै उनीहरूले चुनावको बहिष्कार गर्ने निर्णय गरेका छन् । त्यसैले उनीहरूले कुनै नीतिगत आधारमा होइन, उनीहरूको कुनै जनआधार नभएको हुनाले नै चुनावको बहिष्कार गर्ने निर्णय गरेका हुन् । उनीहरूको झुकाव सुरूदेखि नै, आठौँ महाधिवेशनको बेलामा उनीहरूले प्रकट गरेको भिन्न मतको बेलादेखि नै २ वटा कुराहरूप्रति रहने गरेको कुरा प्रष्ट छ । प्रथम, उनीहरूले प्रतिगमनको पक्ष लिने गरेका छन् । द्वितीय, भारतीय साम्राज्यवादप्रति उनीहरूको झुकाव रहने गरेको छ । 
    ६. आठौँ महाधिवेशनको बेलामा उनीहरूले ल्याएका मतभदेहरूमा पनि उनीहरूमा प्रतिगमन दिशाउन्मुख प्रवृत्ति देखा परेको थियो र पछि पनि उनीहरूमा त्यो प्रवृत्ति कायम रहेको छ । उनीहरूले देशमा कायम रहेको गणतन्त्रलाई प्रतिक्रियावादी भनेर विरोध गर्ने गरेका छन् । उनीहरूको त्यो दृष्टिकोणले गणतन्त्रमाथि हमला गर्ने वा प्रतिक्रियावादीहरूको नीतिसित मेल खान्छ । आज देशमा प्रतिगमनको खतरा अत्यन्तै गम्भीर बनेर गएको छ । तर उनीहरूले देशमा प्रतिगमनको खतरा भएको कुरालाई अस्वीकार गर्दछन् । त्यही कारणले राजावादी वा प्रतिक्रियावादी शक्तिहरूसित उनीहरूको निकटता बढ्दै गइरहेको छ । त्यही कारणले नै उनीहरू ओलीको पनि बढी नजिक हुँदै गइरहेका छन् । उनीहरूले सामन्तवादसितको अन्तरविरोध गौण भएको बताउँछन् र राजावादीहरूबाट पनि कुनै खतरा नभएको कुरा बताउँछन् । त्यसरी समग्र रूपमा उनीहरूको राजनीतिक दृष्टिकोणले प्रतिगमनउन्मुख दिशा लिएको कुरामा कुनै शङ्का रहन्न । 
    ७. उनीहरू भारतीय विस्तारवादले साम्राज्यवादको चरित्र लिएको कुरालाई पनि मान्न अस्वीकार गर्दछन् । भारतको आर्थिक चरित्रमा जुन प्रकारको विकास हुँदै गएको छ र दक्षिण पूर्वी एसियामा, खास गरेर नेपालप्रति त्यसले जुन प्रकारका नीतिहरू अपनाउँदै गइरहेको छ, त्यसबाट भारतले साम्राज्यवादी चरित्र लिएको कुरामा कुनै शङ्का रहन्न । त्यो अवस्थामा त्यसका विरूद्धको सङ्घर्षमा हामीले पहिले भन्दा बढी जोड दिनुपर्ने आवश्यकता छ । तर फुटपरस्त तŒवहरूले भारतले साम्राज्यवादी चरित्र ग्रहण गरेको कुरालाई अस्वीकार गर्दछन् र त्यसरी उनीहरू भारतीय साम्राज्यवादप्रति सम्झौतापरस्त दृष्टिकोण अपनाउन पुग्दछन् । उनीहरूको त्यस प्रकारको सम्झौतापरस्त दृष्टिकोणले भारतीय साम्राज्यवाद विरुद्धको नेपालको राष्ट्रिय आन्दोलनलाई कमजोर पार्ने कुरा प्रष्ट छ । 
    ८. भारतमा कट्टर हिन्दुवादी शक्तिहरूको सरकार छ । त्यसले धर्मनिरपेक्षतालाई समाप्त गरेर नेपाललाई हिन्दुराष्ट्र बनाउन तथा हिन्दुराष्ट्रको रक्षाका लागि हिन्दु राजाको पुनस्र्थापना गर्न चाहन्छ । त्यसैले नेपालका राजावादीहरू र ओलीको नेतृत्वको एमालेको समेत भारतीय साम्राज्यवादसित साँठगाँठ बढ्दै गइरहेको छ । त्यस प्रकारको पृष्ठभूमिमा फुटपरस्तहरूको भारतीय साम्राज्यवादप्रतिको सम्झौतापरस्त दृष्टिकोणबाट नेपालको प्रजातान्त्रिक र राष्ट्रिय आन्दोलनमा पनि नकारात्मक असर पर्ने कुरा प्रष्ट छ । उनीहरूको कथित विशेष महाधिवेशनले पनि उनीहरूको प्रतिगमन दिशा उन्मुख तथा भारतीय साम्राज्यवादप्रतिको सम्झौतापरस्त दृष्टिकोणमा कुनै परिवर्तन ल्याएको देखिँदैन । त्यसकारण उनीहरूको राजनीतिक लाइन प्रतिगमन दिशा उन्मुख र भारतीय साम्राज्यवादपरस्त नै रहिरहने छ भनेर शङ्का गर्नको लागि ठाँउ छ । 
    ९. पहिले पनि हाम्रो पार्टीबाट फुटेर गएका तत्वहरूले केही बेरको लागि आफ्नो नामका साथमा “मसाल” नै राख्ने गरेका थिए । तर पछि उनीहरूले अन्य पक्षहरूसित एकीकरण वा विलय गर्ने गरेका थिए । त्यस प्रकारका उदाहरणहरू थुप्रै छन् । अझ स्पष्ट शब्दमा भन्ने हो भने अहिलेसम्म हाम्रो पार्टीबाट फुटेर गएका सबै पक्षहरूले विना अपवाद त्यही प्रकारको नीति अपनाउँदै गइरहेका छन् । त्यही प्रकारले अहिले उनीहरूले कथित विशेष महाधिवेशन गरेर आफ्नो सङ्गठनको “मशाल” नामाकरण गर्ने जुन कार्य गरेका छन्, त्यो पनि अस्थायी विराम नै हो । त्यसरी उनीहरूले पहिलेका अन्य सबै पक्षहरूले जस्तै हाम्रो पार्टीप्रति केही भ्रम पैदा गर्ने प्रयत्न गरेपनि त्यसमा पूरै स्थायित्व नहुने कुुरा प्रष्ट छ । 
    १०. उनीहरूको महाधिवेशनले २ वटा महत्वपूर्ण निर्णयहरू गरेको कुरा उनीहरूले जारी गरेको विज्ञप्तिबाट थाहा हुन्छ । प्रथम, उनीहरूले जातीय समता समाजलाई विघटन गर्ने निर्णय गरेका छन् । द्वितीय, उनीहरूले का. मोहनविक्रम सिंह र का. चित्रबहादुर के.सी.लाई पार्टीबाट निष्कासित गर्ने निर्णय गरेका छन् । पहिलो निर्णयले उनीहरूको दलित आन्दोलनप्रतिको गलत र विकृत मानसिकतालाई नै बताउँछ । देशमा दलितहरूमाथिका अन्याय र हिंसात्मक कार्यहरू बढिरहेको बेलामा दलित आन्दोलनप्रतिको उनीहरूको त्यस प्रकारको हमलाको नीतिलाई कुनै पनि अवस्थामा सही भन्न सकिदैन । उनीहरूको का. मोहनविक्रम सिंह र चित्रबहादुर के.सी.लाई पार्टीबाट निष्कासित गर्ने निर्णय एउटा हास्यास्पद निर्णय नै हो । त्यसले उनीहरूको दिवालियापनलाई नै प्रकट गर्दछ ।


    images
    images

    लेखक नेकपा (मसाल)का प्रवक्ता हुन ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार