शनिबार, वैशाख ८ गते २०८१
Logo
शनिबार, वैशाख ८ गते २०८१

को हुन काठमाडौंमा ठूला दललाई धक्का दिँदै चुनाव जित्ने स्वतन्त्र पार्टीका पाँच नेता ?

को हुन काठमाडौंमा ठूला दललाई धक्का दिँदै चुनाव जित्ने स्वतन्त्र पार्टीका पाँच नेता ?

माओवादी उपत्यकामै पत्ता साफ भयो भने एमालेले काठमाण्डौ उपत्यकामा जम्मा दुई सिट जित्यो । कांग्रेसलाई सिटको हिसाबले घाटा नलागे पनि उसका मतदाताले यसपटक स्वतन्त्र पार्टीका उम्मेदवारलाई भोट दिएर ठाउँ ठाउँमा चुनाव जिताएको देखियो । ठूला दललाई धक्का दिएर अप्रत्याशित नतिजा दिने स्वतन्त्र पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य को हुन त ? उनीहरुबारे जानौं

साझा पोष्ट
शुक्रबार, मंसिर ९ २०७९
  • images
    को हुन काठमाडौंमा ठूला दललाई  धक्का दिँदै चुनाव जित्ने स्वतन्त्र पार्टीका पाँच नेता ?
    images

    काठमाडौं । काठमाडौं जिल्लाका १० निर्वाचन क्षेत्रमध्ये चार क्षेत्रमा नवस्थापित राष्ट्रिय स्वतन्त्र पार्टीले जित्यो । ललितपुरका तीन मध्ये एक सिटमा उसले बाजी मार्यो । पुराना र मजबुत संगठन भएका ठूला दलका नेतालाई स्वतन्त्र पार्टीका नयाँ उम्मेदवारले पहिलो प्रयासमै ठूलो धक्का दिए ।


    images
    images

    माओवादी उपत्यकामै पत्ता साफ भयो भने एमालेले काठमाण्डौ उपत्यकामा जम्मा दुई सिट जित्यो । कांग्रेसलाई सिटको हिसाबले घाटा नलागे पनि उसका मतदाताले यसपटक स्वतन्त्र पार्टीका उम्मेदवारलाई भोट दिएर ठाउँ ठाउँमा चुनाव जिताएको देखियो । 
    ठूला दललाई धक्का दिएर अप्रत्याशित नतिजा दिने स्वतन्त्र पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य को हुन त ? उनीहरुबारे जानौं 


    सोविता गौतम (काठमाडौं-२ )

    काठमाडौं निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित  २७ वर्षे गौतम अधिवक्ता हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्यसमेत रहेकी उनी अहिलेसम्म निर्वाचित भएकामध्ये सबैभन्दा कान्छी हुन् ।

    नेपाल टेलिभिजनमा कार्यक्रम निर्माता र प्रस्तोताका रूपमा काम गरेकी उनी पछिल्लो समय विभिन्न सामाजिक संघसंस्थाको नेतृत्वमा रहेर समेत काम गरिसकेकी छिन् ।

    Sobita-Gautam9001669165000.jpg

    उनले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सल्लाहकारका रूपमा समेत काम गरेकी छिन् । नेपाल युवा संस्था सञ्जाल (आयोज)को निबर्तमान बोर्ड सदस्य रहेकी उनले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा इन्टर्नसिप गरेकी थिइन् । नेपालमा पटक–पटक व्यवस्था परिवर्तन भए पनि जनताको अवस्थामा परिवर्तन नभएको विषयलाई चुनावी मुद्दा बनाएर उनी मतदातासम्म पुगेकी थिईन् । 

    शिशिर खनाल (काठमाडौं-६)

    काठमाडौं क्षेत्र नं ६ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित  ४३ वर्षे खनाल काठमाडौं बनस्थलीका बासिन्दा हुन् । 
    शैक्षिक क्षेत्रमा खनाल विशेष परिचित छन ।  उनी टिच फर नेपालका सहसंस्थापक हुन् । यो संस्थाले नेपालका ग्रामीण भेगमा रहेका सरकारी विद्यालयमा करिब ५० हजार विद्यार्थीलाई पढाउँदै आएको छ ।

    Sisir_Khanal1669195251.jpg

    टिच फर नेपालले विश्वविद्यालयबाट स्नातक उत्तीर्ण युवालाई ग्रामीण भेगमा रहेका सरकारी विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि फेलोसिप दिँदै आएको छ । जसमा छनोट भएका युवाले २ वर्ष पारिश्रमिकसहित सरकारी विद्यालयमा पढाउँछन् । सामान्य मोबाइल वा कम्प्युटरको प्रयोगबाट सिकाइ पद्धतिमा सुधार ल्याउन सम्भव छ भनेर टिच फर नेपालले देखाएको छ । खनालले अमेरिकाबाट राजनीतिक अर्थशास्त्र र सार्वजनिक नीतिमा स्नातकोत्तर गरेका छन् ।अहिले उनी डेलिभरी र लजिस्टिक सेवा उपलब्ध गराउँदै आएको पिक एन्ड ड्रप्सका सञ्चालकसमेत हुन् । सन् २०१९ मा उनले युवा सीईओको अवार्डसमेत पाएका थिए ।   केही समय उनी तुलसीपुर उपमहानगरपालिकाको शैक्षिक सल्लाहकार समेत बनेका थिए ।  खनाल सार्वजनिक शिक्षा सुधार र दिगो सहरी विकासलगायत एजेन्डा लिएर मतदातामाझ पुगेका थिए ।

    गणेश पराजुली (काठमाडौं- ७) 

    काठमाडौं क्षेत्र नं ७ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित ४३ वर्षे पराजुली एक सफल व्यवसायी हुन । खोटाङमा जन्मिएका उनी  पढ्नका लागि काठमाडौं आएका थिए । बालाजु नजिक चमतीमा हिमालयन हृयान्डिक्राफ्ट इण्डष्ट्रिज चलाईरहेका उनले अहिले उद्योग, होटल तथा हस्पिटालिटी, कफी शप लगायत क्षेत्रमा लगानी गरेका छन् ।

    ganesh1669165774.jpg

    उनले गाँजामा आधारित विभिन्न रेशाजन्य निर्यातमूलक सामानरू उत्पादन गरी निर्यात गर्दै आएका छन् ।
     व्यवस्थापन संकायमा स्नातक उनी अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लबमा समेत संलग्न रहेर सामाजिक कार्यहरूमा सक्रिय थिए । उनी देशमा व्याप्त बेथिति र भ्रष्टाचार अन्त्य गर्ने विषयलाई चुनावी मुद्दा बनाएर भोट माग्न गएका थिए । 

    विराजभक्त श्रेष्ठ (काठमाडौं-८) 

    काठमाडौं–८ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित  श्रेष्ठ प्रदेशसभामा सांसद्का रूपमा अनुभव बटुलिसकेका नेता हुन् । ०७४ मा विवेकशील साझाबाट समानुपातिकमा वाग्मती प्रदेशसभा सदस्य बनेका उनी यसपटक स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । 

    biraj-bhakta-shrestha1669164844.jpg

    काठमाडौंको इन्द्रचोकमा जन्मिएका ४१ वर्षीय श्रेष्ठले बिजनेस एड्मिनिस्ट्रेसनमा स्नातक गरेका छन् ।  सामाजिक अभियन्ता र सफल उद्यमीका रुपमा चिनिएका श्रेष्ठविभिन्न होटल र रेष्टुरेण्टका सञ्चालक हुन् ।

    प्रदेशसभामा नेपाल भाषा र तामाङ भाषालाई प्रदेश सरकारको काम काजको भाषाको मान्यता दिने कानुन बनाउन उनले सक्रिय र नेतृत्वदायी भूमिका खेलेका थिए । उनले इन्द्र चोक पुननिर्माण, शंखधर स्वास्थ्य नागरिक पार्क निर्माण लगायत योजना भित्राएका थिए । काठमाडौंमा भएको गुठी विधेयकविरुद्धको आन्दोलन र अकुपाई टुँडिखेललगायतका आन्दोलनमा पनि उनी सक्रिय थिए ।

    विवेकशील साझा पार्टीको केन्द्रीय सदस्य रहेका श्रेष्ठ पार्टी भताभुंग भएपछि स्वतन्त्र पार्टीमा आबद्ध भएका थिए । निर्वाचन प्रचारमा ‘मतदान होइन, मत लगानी गरौँ, आउने पुस्ताको भविष्य सुनिश्चित गरौँ’ भन्ने नारा लिएर मातदातामाझ गएका थिए ।

    डा. तोसिमा कार्की (ललितपुर-३) 

    ललितपुर निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित ३३ वर्षे तोसिमा कार्की चिकित्सक हुन् । ललितपुरको नख्खुमा जन्मिएकी उनले किष्ट मेडिकल कलेजबाट एमबीबीएस र काठमाडौं विश्वविद्यालयबाट शल्य चिकित्सा विषयमा स्नात्तकोत्तर गरेकी छिन् । उनी यसअघि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्यापकसमेत थिइन् ।चिकित्सा क्षेत्रको सुधारका लागि भएका आन्दोलनमा सहभागी हुँदै आएकी उनी हाल नेपाल मेडिकल काउन्सिलकी सदस्य समेत हुन् ।

    Toshima-karki-1668231111.jpg

    काउन्सिलको सदस्यका रूपमा उनले सुविधा लिएको विषयलाई लिएर परेको उजुरीमा निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरिदिएको थियो । तर, सर्वोच्च अदालतले उनको उम्मेदवारी कायम रहने फैसला गरिदिएको थियो । उनको उम्मेदवारीका विषयमा मुद्दा परेपछि तोसिमाको थप चर्चा चुलियो । उनी निर्वाचनमा स्वास्थ्य क्षेत्रको सुधार र स्वस्थ समाज निर्माणको मुद्दालाई अघि सारेर मतदातामाझ पुगेकी थिइन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार