Sajha Post
विष्णु पौडेलको क्षेत्र रुपन्देही-२ मा मतगणना अवरुद्ध , पुनः मतदानको माग

बुटवल । रुपन्देहीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ को मतगणना अन्तिमतिर पुग्दा अवरुद्ध भएको छ । मुचुल्कामा रहेको मतपत्र भन्दा मतगणनामा बढी मतपत्र भेटिएको भन्दै सत्ता गठबन्धन र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिले विरोध गरेपछि मतगणना रोकिएको हो । उनीहरुले पुनः मतदानको माग गरेका छन । ८१ हजार मतमध्ये ६ हजार मत गन्न बाँकी छँदा मतगणना अवरुद्ध भएको हो ।

मतपेटिकामा मुचुल्कामा भन्दा ५० थान मतपत्र बढी देखिएपछि एमाले इतरका दलका प्रतिनिधिले मतगणना राेकेका छन ।  मुचुल्कामा लेखिएको मतपत्रको संख्याभन्दा केही फरक परेपनि महिला र पुरुषको मतपत्र भिडाउँदा मतपत्रको संख्या बढी नभएको निर्वाचन अधिकृत उद्वीर नेपालीले बताए ।


सत्ता गठबन्धनमा आवद्ध दल र राष्ट्रिय स्वतन्त्र पार्टीले पुनः मतदानको माग गर्दै निर्वाचन अधिकृतलाई ज्ञापनपत्र समेत बुझाएका छन् । 

nepatop

उनका अनुसार लुम्बिनी वाणिज्य क्याम्पस ‘ड’ बुथमा ३८८ जना महिला र पुरुष २४१  गरी ६२९ मत खसेको मुचुल्कामा उल्लेख भएको तर उक्त तथ्यांकलाई निर्वाचन कार्यालयको कम्युटरमा प्रविष्ट गर्ने समयमा महिलाको संख्या फरक पर्न गएको हो ।तर मुचुल्कामा उल्लेख गरिएको एकमुष्ट संख्या ६२९ नै मिल्न आएकाले अन्यथा सोच्नुपर्ने केही नभएको उनले बताए । 

मतगणना अवरुद्ध हुनुअघि रुपन्देही २ मा नेकपा एमालेका उम्मेदवार विष्णु पौडेल एक हजार बढी मतले अग्रता लिएका थिए । दोस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेल र तेस्रो स्थानमा सत्ता गठबन्धन समर्थन पाएका राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापा तेस्रो स्थानमा छन् ।नेकपा एमाले भने निर्वाचन कानुन अनुसार मतगणना सुरु हुनुपर्ने माग गरेको छ । 

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  १४:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update