शनिबार, वैशाख ८ गते २०८१
Logo
शनिबार, वैशाख ८ गते २०८१

मुस्ताङबाट एक वर्षमा ५० करोडको स्याउ निकासी

मुस्ताङबाट एक वर्षमा ५० करोडको स्याउ निकासी

समुद्री सतहदेखि करिब दुई हजार पाँच सय मिटर अग्लो उचाइभन्दा माथि स्याउखेती गरिन्छ । मुस्ताङको चिसो हावापानी र हिउँले सिञ्चित त्यहाँको स्याउ गुणस्तरीय तथा स्वादिलो हुने गर्छ । उत्पादन भएको ८० प्रतिशत स्याउ देशका विभिन्न सहरमा निकासी हुन्छ । 

साझा पोष्ट
मंगलबार, मंसिर १३ २०७९
  • images
    मुस्ताङबाट एक वर्षमा ५० करोडको स्याउ निकासी
    images

    सुर्खेत । मुस्ताङबाट यस वर्ष ५० करोड मूल्य बराबरको स्याउ निकासी भएको छ । मुस्ताङमा उत्पादन भएको छ हजार छ सय मेट्रिक टनमध्ये ७० प्रतिशत अथवा चार हजार छ सय २० मेट्रिक टन स्याउ निकासी भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । 


    images
    images

    भदौमा प्रतिकिलो एक सयका दरले बिक्री भएको मुस्ताङको स्याउको मूल्य मङ्सिर पहिलो साता आइपुग्दा प्रतिकिलो एक सय २० देखि ३० भएको छ । सरदर प्रतिकिलो एक सय १० का दरले स्याउ बिक्री भएको कृषकले बताएका छन् ।

    जसअनुसार निकासी भएको स्याउको मूल्य ५० करोड ८२ लाख हुन आउँछ । कृषि ज्ञान केन्द्र मुस्ताङका प्रमुख प्रकाश बस्ताकोटीले गत वर्षको तुलनामा यसपालि १८.५६ प्रतिशतले स्याउ उत्पादन बढेको जानकारी दिए ।

    ‘बगैँचामा पुगेर क्रप कटिङ र सोधपुछ गर्दा उत्पादन बढेको पाइयो, उनले भने, ‘अनुकूल मौसमले उत्पादकत्व, क्षेत्रफल र नयाँ बिरुवा थपिएकाले उत्पादन बढेको हो ।’

    कुल पाँच सय ८० हेक्टर जमिनमा लगाइएको स्याउका बोटले उत्पादन दिएको छ । मुस्ताङको पाँचवटै स्थानीय तहमा एक हजार चार सय ७५ हेक्टर जमिनमा स्याउखेती गरिएको छ । क्रप कटिङ सर्वेक्षण गर्दा जिल्लामा प्रतिहेक्टर ११.३७ मेट्रिक टन स्याउ उत्पादन हुने पाइएको प्रमुख बस्ताकोटीले बताए । 

    यसैगरी मुस्ताङमा कुल स्याउ उत्पादनमध्ये यस वर्ष चार सय ४० मेट्रिक टन उच्च घनत्व प्रविधिमा आधारित स्याउको उत्पादन भएको छ । मुस्ताङमा ३८ हेक्टर जमिनमा उच्च घनत्व प्रविधिमा आधारित स्याउखेती गरिएको छ । जसमध्ये २२ हेक्टरका बगैँचाले उत्पादन दिइरहेका छन् ।

    यो स्याउ प्रतिहेक्टरमा लगाइएको बोटमा करिब २० टनसम्म उत्पादन हुने गरेको छ । नयाँ स्याउ बगैँचाका बोटबाट स्याउ उत्पादन सुरु हुन थालेको, किसानले बगैँचा व्यवस्थापनमा ध्यान दिन थालेको र स्याउका लागि अनुकूल मौसम भएकाले उत्पादनमा राम्रो भएको केन्द्रले जनाएको छ ।

    समुद्री सतहदेखि करिब दुई हजार पाँच सय मिटर अग्लो उचाइभन्दा माथि स्याउखेती गरिन्छ । मुस्ताङको चिसो हावापानी र हिउँले सिञ्चित त्यहाँको स्याउ गुणस्तरीय तथा स्वादिलो हुने गर्छ । उत्पादन भएको ८० प्रतिशत स्याउ देशका विभिन्न सहरमा निकासी हुन्छ । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार