
एजेन्सी । पाकिस्तानमा तालिबान समूहले सरकारसँग भएको युद्धविराम सम्झौता भंग भएको घोषणा गरेको छ । उसले युद्धविराम भंग गर्दै आफ्ना लडाकुलाई देशभर आक्रमण सुरु गर्न आह्वानसमेत गरेको छ ।
‘वार्ता प्रक्रियामा अवरोध नहोस् भनेर हामी लगातार संयम भयौं’ उसले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘तर सेना र गुप्तचरबाट हामीमाथि आक्रमण रोकिएन । त्यसैले अब हामी पनि जवाफी आक्रमण सुरु गर्नेछौं ।’
गत जुन महिनामा पाकिस्तान सरकार र तालिबान समूहबीच युद्धविराम गर्ने सम्झौता भएको थियो । तर सरकारले सम्झौता पालना नगरेको आरोप लगाउँदै तालिबानले पनि सम्झौताबाट आफू पछि हटेको जनाएको छ ।
सन् २००७ मा प्रभावमा आएपछि पाकिस्तानभर भएका दर्जनौं हिंसात्मक हमला र सयौंको मृत्युमा तेहरिक– इ–तालिबान पाकिस्तान टीटीपी समूह जिम्मेवार छ । सन् २०१० मा ठूलो संख्यामा तालिबान लडाकुहरूलाई पाकिस्तानबाट छिमेकी अफगानिस्तानमा धपाइएको थियो ।
तर, काबुलमा अफगान तालिवानको सत्तामा फर्किएपछि उनीहरूलाई हौसला मिलेको छ । जुनमा टीटीपीले पाकिस्तान सरकारसँग युद्धविराम गरेको थियो । तर, सम्झौता उल्लंघन भएको दुबै पक्षले एक अर्कामाथि आरोप लगाउँदै आएका थिए र विभिन्न स्थानमा अनगिन्ती झडप भएका थिए ।