Sajha Post
काठमाडौं महानगरको कार्यालय अघि सुकुम्बासीको प्रदर्शन

काठमाडौं । काठमाडौंको थापाथलीस्थित बागमती नदी किनारमा बसेका सुकुम्बासीले काठमाडौं महानगरपालिकाको कार्यालय घेराउ गरेका छन्। आफूहरुको उचित व्यवस्थापन विना हटाउन लागिएको भन्दै त्यसको विरोधमा उनीहरुले महानगरको कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।

एकीकृत  वाग्मती सभ्यता विकास समितिले अतिक्रमित बस्ती खाली गराइदिन महानगरलाई अनुरोध गरेसँगै महानगरको टोली सोमबार बस्तीमा पुगेको थियो । त्यसक्रममा दुवै पक्षबीच झडप हुँदा स्थिति तनावपूर्ण भएको थियो । झडपमा नगर प्रहरी प्रमुख सहित ३६ जना घाइते भएका थिए ।

आक्रोशित स्थानीयले ‘डोजर आतंक बन्द गर’ भन्दै महानगरमा पुगेर प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीहरुले बालेन शाह राजीनामा दे, उचित विकल्पसहित ब्यवस्थापन गर, बसोबासका आधारमा लालपूर्जा दे जस्ता नारा लगाएका थिए।

थापाथलीबाट नारा जुलुस गर्दै गएका उनीहरुले महानगर विरुद्ध केहीबेर नारा लगाएर फेरि थापाथलीमै फर्किएका छन् । उनीहरुले थापाथलीको सुकुम्बासी बस्ती छिर्ने मुख्य बाटाहरुमा टायर बालेर प्रदर्शन गरेका छन् ।

प्रकाशित मिति: मंगलबार, मंसिर १३, २०७९  १२:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update