
काठमाडौं । समूहको अन्तिम खेलमा इक्वेडरलाई पराजित गर्दै सेनेगल कतार विश्वकपको नकआउट चरणमा पुगेको छ।
खालिफा इन्टरनेशनल स्टेडियममा मंगलबार राति भएको खेलमा सेनेगलले इक्वेडरलाई २–१ ले पराजित गरेको हो।पहिलो खेलमा सुखद् नतिजा निकाले पनि सेनेगलसँग पराजित भएसँगै इक्वेडरको भने विश्वकप यात्रा समूहचरणमै सकिएको छ।
अन्तिम खेलमा बराबरी नतिजा निकालेको भए पनि इक्वेडर अघिल्लो चरण पुग्थ्यो। सेनेगल यस विश्वकपमा नकआउट चरण पुग्ने पहिलो अफ्रिकी राष्ट्र बनेको छ ।
पहिलो हाफको अन्त्यतिर सेनेगलले पेनाल्टीमा अग्रता लिएको थियो । दोस्रो हाफमा इक्वेडर खेलमा फर्कंदै नकआउट चरण पुग्ने सम्भावना जीवित बनाएको थियो । तर कप्तान कालिडु कौलीबालीले गोल गर्दै सेनेगललाई अघि बढाए ।
इस्माएला सारले खेलको ४४ औं मिनेटमा सेनेगलका लागि पेनाल्टीमा गोल गर्दै अग्रता दिलाएका थिए । पिएरो हिन्कापीले पेनाल्टी क्षेत्रभित्र फल गरेपछि रेफ्रीले दिएको पेनाल्टीमा सारले गोल गरे ।
दोस्रो हाफको ६८ औं मिनेटमा इक्वेडरका लागि मोइसेस काइसेडोले बराबरी गोल फर्काए । कर्नरमा हेडर डिफ्लेक्ट हुँदै अनमार्क रहेका काइसेडोको खुट्टामा आएपछि उनले सहजै गोल गरे ।
तर सेनेगलले दुई मिनेटपछि नै पुनः अग्रता लियो । कालिडु कौलीबालीले सेटपिसको रिबाउन्डमा गोल गर्दै सेनेगललाई अघि बढाए ।
चौथोपटक विश्वकप खेलेको इक्वेडर तेस्रोपटक समूह चरणबाट नै बाहिरिएको हो। सन् २००२ मा पहिलो पटक विश्वकप खेलेको इक्वेडर समूह चरणबाट नै बाहिरिएको थियो। २००६ को विश्वकपमा अन्तिम १६ बाट बाहिरएको इक्वेडर २०१४ मा पनि समूह चरणबाट अघि बढ्न सकेको थिएन।
२०१८ को विश्वकपमा छनोट हुन नसकेको इक्वेडरको यो पटक अघिल्लो चरण पुग्ने बलियो सम्भाबना भए पनि सेनेगलले रोक्यो।
सेनेगल तेस्रो पटक विश्वकप खेल्दै छ। पहिलो सहभागितामा तहल्का मच्चाएको सेनेगलको १६ वर्ष पछिको विश्वकप भने सुखद् हुन सकेन। २००२ मा क्वार्टर फाइनलमा पुगेको थियो।
तर २०१८ को विश्वकप समूह चरणमै टुंगिएको थियो। २० वर्षपछि पुनः अघि बढेको हो। अब सेनेगलले समूह बीको विजेतासँग क्वार्टर फाइनल प्रवेशका लागि खेल्नेछ।