
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले उम्मेदवारी दर्ता गराएका छन् ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पुगेर सभापति देउवा र महामन्त्री थापाले उम्मेदवारी दर्ता गरेका हुन् । सभापति देउवाको प्रस्तावक रामचन्द्र पौडेल र पूर्णबहादुर खड्का समर्थक बसेका छन् ।
त्यस्तै महामन्त्री थापाको उम्मेदवारीमा नेता शेखर कोइराला प्रस्तावक बनेका छन् भने उनलाई उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेलले समर्थन गरेका छन् ।
कांग्रेस संसदीय दलको नेताको लागि बुधबार विहान ८ बजेदेखि १० बजेसम्म मतदान हुँदैछ । प्रत्यक्षमा ५७ र समानुपातिकमा ३२ सहित प्रतिनिधिसभामा ८९ जना सांसद रहेको कांग्रेसमा सभापति देउवाका पक्षमा बहुमत भएकाले देउवा नै संसदीय दलको नेता बन्ने लगभग निश्चित छ । देउवाको पक्षमा ५६ र गगनसँग ३३ सांसद रहेको बताइएको छ । तर रातभरि र बुधवार विहानसम्म दुवै पक्षले सांसद तानातान गर्ने भएकोले संख्या थपघट हुन सक्नेछ ।