
काठमाडौं । उज्वेकिस्तानमा कफ सिरपको सेवनबाट १८ बालबालिकाको मृत्यु भएको छ । भारतीय औषधि कम्पनी ‘मेरियन बायोटेक’ ले बनाएको सिरप खाँदा बालबालिकाको मृत्यु भएको उज्वेकिस्तान्को स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कम्पनीको औषधि ‘डक–१ म्याक्स सिरप’ को सेवनले २१ मध्ये १८ बालबालिकाको श्वासप्रश्वाससम्बन्धी गम्भीर रोगबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । विज्ञप्तिमा यी सिरपहरू बालबालिकाहरूलाई चिकित्सकको प्रेस्क्रिप्सनबिना र फर्मासिस्टको सल्लाहमा चाहिनेभन्दा बढी डोज दिइएको बताइएको छ ।
उज्बेक स्वास्थ्य मन्त्रालयले समयमै मृत्युको विश्लेषण नगरेको र आवश्यक सावधानीमा नअपनाएर लापरबाही गरेको आरोपमा सात कर्मचारीलाई बर्खास्त गरेको जनाएको छ । साथै सबै फार्मेसीहरूबाट ‘डक-१ म्याक्स’ ट्याबलेट र सिरपहरू पनि फिर्ता लिइरहेको छ ।
भारतको नोयडामा रहेको कम्पनीले आफ्नो वेबसाइटमा यो औषधि चिसो र फ्लुको उपचारका लागि भएको बताएको छ ।
सिरपको एक ब्याचमा ‘इथाइलिन ग्लाइकोल’ को मिश्रण पाइएको छ‚ जुन शरीरका लागि विषाक्त पदार्थ हो । मंगलबार मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ । छ । यो सिरप ‘क्युरम्याक्स मेडिकल’ ले उज्वेकिस्तानमा आयात गरेको उल्लेख छ ।
उज्वेकिस्तानमा भएको घटना गाम्बियासँग मिल्दोजुल्दो देखिएको छ । यसअघि भारतमै निर्मित कफ सिरपका कारण गाम्बियामा ७० बालबालिकाको मृत्यु भइसकेको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले ती सिरपले मिर्गौलामा गम्भीर असर पारेको बताउँदै उक्त कम्पनीद्वारा निर्मित कफ सिरप नखान चेतावनी दिएको थियो । प्रतिबन्धित सिरपमा ‘प्रोम्याथेजिन ओरल सलुसन’, ‘कोफ्याक्समेलिन बेबी सिरप’, ‘मेकअफ बेबी कफ सिरप’ र ‘मेगरिप एन्ड कोल्ड सिरप’ छन् । यी सबै कफ सिरप भारतीय कम्पनी मैदन फर्मास्युटिकल्स लिमिटेडले हरियाणामा बनाएको हो । तर‚ भारतीय सरकार र कम्पनी दुवैले औषधिमा गल्ती भएको अस्वीकार गरेका थिए । इन्डोनेसियामा पनि कफ सिरपकै कारण ९९ जनाको मृत्यु भइसकेको छ ।