Sajha Post
कम्बोडियामा ज्यान गुमाएका पाण्डेको शव नेपाल ल्याउने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कम्बोडियाको एक क्यासिनोमा आगलागीका कारण ज्यान गुमाएका झापा विर्तामोड नगरपालिका–१ का निराकर पाण्डेको शव नेपाल ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । 

प्रधानमन्त्री प्रचण्डले मुख्यसचिव शंकरदास वैगारीलाई पाण्डेको शव नेपाल ल्याउन शीघ्र सहजीकरणका लागि सम्बन्धित निकायलाई परिचालन गर्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । कम्बोडियाको एक क्यासिनोमा भीषण आगलागी हुँदा ज्यान जोगाउन १२ तलामाथिबाट हाम फाल्दा पाण्डेको ज्यान गएको थियो । 

पाण्डेले आफ्नो मृत्युअघि घरपरिवार र आफन्तसँग एक भिडियो र अडियो सन्देश पठाएका थिए । जुन अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । उक्त सन्देशमा पाण्डेले मृत्युपछि आफ्नो शव नेपाल पुर्याइदिन आग्रह गरेका थिए । घटनामा पाण्डेसहित १९ जनाको ज्यान गएको थियो । 

प्रधानमन्त्री प्रचण्डले सो घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले निधन भएका पाण्डेका परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ ।

कम्बोडियामा नेपाली : होटलमा आगलागी भएपछि घरमा भिडियो सन्देश पठाए र १२ तलाबाट हाम फाले तर ज्यान जोगाउन सकेनन् ।

प्रकाशित मिति: शनिबार, पुस १६, २०७९  १२:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update