1672569091.jpg)
पोखरा अन्तराष्ट्रिय विमानस्थल आजदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विमानस्थलको उद्घाटन गरेपछि औपचारिक रुपमा उद्घाटनमा आएको हो ।
पर्यटकीय नगरी पोखरामा आयोजित विशेष समारोहमा पानसमा दिप बालेर प्रधानमन्त्रीले अन्तराष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन गरेका हुन् ।
त्यस अवसरमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेललगायतको उपस्थिति रहेको थियो । यसअघि त्यस क्षेत्रका हेलिकप्टरमार्फत् पुष्प वृष्टि गरिएको थियो । समारोहमा पोखराबासीको उत्साहजनक उपस्थिति रहेको छ ।
आज अन्तर्राष्ट्रिय उडान भने भएन । अन्तर्राष्ट्रिय उडान फागुन दोस्रो सातापछि मात्रै खुल्ने बताइएको छ । फेब्रुअरी २३ देखि दैनिक १८ घन्टा उडान हुनेछ । अन्नपूर्ण हिमशृंखलाको आँगनमै बनेको अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनको खुसियालीमा पोखरा महानगरले आज सार्वजनिक बिदा दिएको थियो ।
पोखरा विमानस्थल चिनियाँ निर्माण कम्पनी सीएएमसीइले निर्माण गरेको हो । यसअघि गत वर्ष चैतमा चीनका विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणकै अवसरमा विमानस्थल नेपाललाई हस्तान्तरण गरिएको थियो । त्यसबेला विमानस्थलको केही काम सम्पन्न हुन बाँकी थियो ।
चीनको एक्जिम बैंकको २२ अर्ब सहुलियतपूर्ण ऋण र अनुदान सहयोगमा विमानस्थल निर्माण गरिएको हो । विसं २०३२ मा जमिन अधिग्रहण गरिए पनि चार दशकपछि बल्ल २०७३ मा विमानस्थलको शिलान्यास गरिएकामा विसं २०७४ देखि निर्माण सुरु भएको हो ।