
काठमाडौं । नेपाल आयल निगमले आन्तरिक हवाई इन्धनको मूल्य घटाएसँगै भाडा पनि घटेको छ । घटेको हवाई भाडा पुस २७ गतेदेखि लागू हुने वायुसेवा सञ्चालक संघले जनाएको छ ।
नेपाल आयल निगमले आन्तरिक हवाई इन्धनको मूल्य २० रुपैयाँ घटाएसँगै हवाई भाडा पनि घटेको हो । परिमार्जित भाडादरमा सबैभन्दा धेरै भाडा दर घट्नेमा काठमाडौं–धनगढी रुटमा ८८५ रुपैयाँ छ । कम भाडा दर घट्नेमा काठमाडौं–सिमरा रुटमा १८० रुपैयाँ घटाइने भएको छ ।
नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर ३० रुपैयाँसम्म घटाएको छ । निगम सञ्चालक समितिको आइतबार बसेको बैठकले हवाई इन्धन आन्तरिकतर्फ २० र बाह्यतर्फ करिब ३० रुपैयाँ घटाउने निर्णय गरेको हो ।
नयाँ मूल्यअनुसार हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १७० रुपैयाँ पर्नेछ । यसअघि प्रतिलिटर १९० रुपैयाँ थियो । त्यस्तै, हवाई इन्धन बाह्यतर्फ प्रतिलिटर १८७ रुपैयाँ ८५ पैसा पर्ने जनाएको छ । यसअघि प्रतिलिटर २१७ रुपैयाँ २४ पैसा थियो । हवाई इन्धनको मूल्य भारी घटे पनि निगमलाई अझै आन्तरिकतर्फ लिटरमा २० र बाह्यतर्फ ७० रुपैयाँ नाफा छ ।
हेर्नुस् घटेको भाडा दर