
हेटौंडा । माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्कट्टेल बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । सत्ता गठबन्धनमा रहेका ७० प्रदेशसभा सदस्यको समर्थनसहित दाबी पेश गरेका जम्कट्टेललाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
२०३० साल भदौमा धादिङको साविक किराञ्चोक गाविस वडा नम्बर ९ मा जन्मेका जम्कट्टेल बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । उनी यसअघि डोरमणि पौडेलको नेतृत्वमा गठित प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानुन र आर्थिक मामिला तथा योजना मन्त्री भइसकेका छन् ।
२०४४ सालमा अखिल छैटौंमा आबद्ध भएर विद्यार्थी राजनीति सुरु गरेका जम्कट्टेल २०५२ सालमा ललितपुरको आइरन उद्योगमा काम गर्दै गर्दा मजदुर आन्दोलनमा सहभागी भए । सोही बखत उनी माओवादी केन्द्रमा जोडिन पुगेका थिए ।
उनले बीए, बीएलसम्मको अध्ययन गरेका छन् । उनी २०५२ सालमा माओवादी जनयुद्धमा होमिएका थिए । त्यस यता माओवादीमा निरन्तर क्रियाशील उनी २०६० सालबाट एक दशकभन्दा बढी समय माओवादी निकट अखिल नेपाल ट्रेड युनियन महासंघको अध्यक्ष भए । मजदुर संगठनको नेतृत्वमा आएपछि उनी राजनीतिक उचाइमा पुगेका थिए ।
उनी २०६३ मा पुनःस्थापित संसद्को अन्तरिम विधायक भएका थिए । २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा धादिङ क्षेत्र नम्बर–३ बाट निर्वाचित उनी २०७० मा भएको संविधानसभाको दोस्रो निर्वाचनमा भने पराजित हुन पुगे । उनी २०७३ मा माओवादी केन्द्रको धादिङ जिल्ला अध्यक्ष भए । देश संघीयतामा गएपछि पहिलो पटक २०७४ सालमा भएको प्रदेशसभा निर्वाचनमा धादिङ–१ (२) बाट उनी प्रदेश सांसद बनेका थिए ।