
काठमाडौं। ग्लोबल आईएमई बैंक र बैंक अफ काठमान्डूबीच एकीकृत कारोबार सुरु भएको छ। सोमबार राजधानीमा आयोजित एक समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहालले दुई बैंकबीचको एकीकृत कारोबार सुरुवातको उद्घाटन गरे।
मर्जरको औपचारिक समारोहमा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले मर्जरसँगै ग्लोबल आईएमई बैंक अधिकांश वित्तीय सूचकमा नम्बर एक बैंक हुने बताए।
ग्लोबल आइएमइ अंक र आकारमा मात्र नभई अर्थतन्त्र तथा वित्तीय क्षेत्रमै ठूलो परिवर्तन ल्याउने बैंक हुने दाबी उनले गरे।
मर्जर पश्चात् बैंकको कूल पुँजी ५७ अर्ब पुगेको छ भने चुक्ता पुँजी ३५.७७ अर्ब, कूल निक्षेप ४०० अर्ब र कूल कर्जा ३७९ अर्ब भन्दा बढी भएको छ। मर्जरपछि नयाँ बैंक कूल पुँजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले देशको सबैभन्दा ठूलो बैंक बनेको छ।
दुई बैंकको मर्जर पश्चात् कूल ३६५ शाखा कार्यालय, ३६७ एटीएम, २८६ शाखारहित बैंकिङ सेवा, ६१ विस्तारित शाखा कार्यालयहरु, ३ वटा विदेशस्थित सम्पर्क कार्यालय, ४० लाखभन्दा बढी ग्राहक छन । २१ वटा बैंक तथा वित्तीय संस्थाहरु गाभिएको ग्लोबल आइएमईमा ५ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी समाहित छन्।
नयाँ बैंकको सञ्चालक समितिमा ग्लोबलका तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित ५ जना र बैंक अफ काठमाण्डूका तर्फबाट २ जना रहनेछन्। त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतमा ग्लोबलका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य रहनेछन ।