Sajha Post
राष्ट्रिय सभाको उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै

काठमाडौं । राष्ट्रिय सभाको रिक्त एक पदको उप–चुनावमा भाग लिन  दल दर्ताका लागि निर्वाचन आयोगले दिएको समयसीमा आज सकिँदैछ । अहिलेसम्म दुईवटा दलले मात्रै निवेदन दिएका छन् ।

अहिलेसम्म नेकपा एकीकृत समाजवादी र बहुजन शक्ति पार्टीले निवेदन दिएको आयोगले जनाएको छ । लुम्बिनी प्रदेशबाट अन्य समूहको रिक्त राष्ट्रिय सभाको एक जना सदस्य पदका लागि आउँदो माघ २५ गते उप–चुनाव हुँदैछ ।

लुम्बिनी प्रदेशको अन्य समूहबाट निर्वाचित सदस्य खिमलाल भट्टराईले राजीनामा दिएपछि पद रिक्त भएको हो । आयोगले गएको २४ गते सूचना निकालेर संविधानको धारा २७१ अनुसार दल दर्ताका लागि आह्वान गरेको थियो । निर्वाचन आयोगमा दर्ता कायम रहेका दलहरुले उप–चुनावका लागि आयोगमा निवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति: बिहीबार, पुस २८, २०७९  ०७:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update