
काठमाडौं । नेकपा एकीकृत समाजवादीले कम्युनिस्ट नेता घनश्याम भूसाललाई छिटो भन्दा छिटो पार्टीमा आउन आग्रह गरेको छ ।
बुधबार महासचिव बेदुराम भुसालले घनश्यामलाई एक पत्र लेखी एकीकृत समाजवादीमा आवद्ध भई नेपाली कम्युनिस्ट आन्दोलनको पुनर्गठन र रुपान्तरणको अभियानमा सहभागी हुन आग्रह गरेका हुन् ।
भुसालले पुष २६ गते पार्टी प्रवेशको छलफलका लागि पठाएको ‘कम्युनिस्ट आन्दोलनको पुनर्गठन, रुपान्तरण तथा एकीकरणका लागि प्रस्ताव’ नामक दस्तावेजको उत्तर दिँदै समाजवादीले स्वागत पत्र पठाएको हो।
'हामीले २०७७ चैत्र ४-५ मा आयोजित राष्ट्रिय कार्यकर्ता भेलामा नेपाली कम्युनिष्ट आन्दोलनको पुनर्गठन र रूपान्तरण गर्ने जुन दृढ अठोट गरेका थियौँ। त्यसमा नेकपा(एकीकृत समाजवादी) आज पनि प्रतिबद्ध छ', महासचिव भुसालले पत्रमा भनेका छन्, 'पार्टी निर्माणसम्बन्धी तपाईंले राख्नु भएका धारणा उक्त प्रतिबद्धता अनुरूप नै छन्। त्यसैले तपाईं अब छिटोभन्दा छिटो नेकपा (एकीकृत समाजवा) मा आवद्ध भएर नेपाली कम्युनिष्ट आन्दोलनको पुनर्गठन र रूपान्तरणको यस महान अभियानमा सरिक हुन हार्दिक अनुरोध छ।'
समाजवादीले आफूहरु अहिले पनि सैद्धान्तिक, वैचारिक र कार्यक्रमिक रूपमा खारेजीमा परेको तत्कालीन नेकपाकै बिन्दुमा रहेको कुरा भुसाललाई भनेको छ।
'कुनै दिन नेपालको कम्युनिष्ट आन्दोलन फेरि एकीकृत हुँदा अहिले नेकपा (एकीकृत समाजवादी) मा कायम रहेको सैद्धान्तिक बिन्दुमा नफर्किकन सुखै छैनु भन्ने तपाईंको विश्लेषण पार्टीको तत्सम्बन्धी विश्लेषणसँग मिल्दो छ', पत्रमा भनिएको छ, 'नेपाली क्रान्तिको अबको कार्यदिशा समाजवाद निर्माणतर्फ अगाडि बढ्ने हो भन्ने नेकपा (एमाले) को नवौँ महाधिवेशनको निर्णयप्रति नेकपा(एकीकृत समाजवादी) अहिले पनि प्रतिवद्ध छ। नेपाली क्रान्तिको आजको कार्यदिशा त्यही नै हो। समाजवादको ठोस कार्यक्रम बनाएर अगाडि बढ्नु र त्यो कार्यक्रम बोक्ने पार्टी निर्माण गर्नु आजको आवश्यकता हो।'
भुसाललाई स्वागत पत्र पठाएसँगै अब उनी केही दिनमै समाजवादीमा प्रवेश गर्दैछन्। मंसिर ४ को निर्वाचनअघिसम्म उनी एमाले स्थायी कमिटी सदस्यसँगै अर्थ तथा योजना विभाग प्रमुख पनि पनि थिए।तर एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभाको टिकट नदिएसँगै उनी पार्टी छाडेर रुपन्देही १ मा स्वतन्त्र चुनाव लड्न पुगेका थिए।