Sajha Post
गण्डकीमा सभामुख चयनका लागि आज निर्वाचन, माओवादीका धिताल बन्ने निश्चित

पोखरा ।सत्तारुढ गठबन्धनबाट गण्डकी प्रदेशको सभामुखमा नेकपा माओवादी केन्द्रका कृष्णप्रसाद धिताल उम्मेदवार बन्ने भएका छन्। माओवादी केन्द्र गण्डकी प्रदेशसभा संसदीय दलको शुक्रबार साँझको बैठकले गोरखा क्षेत्र नं १ (१)बाट प्रदेशसभामा निर्वाचित धिताललाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ। 

सत्ता गठबन्धनमा माओवादी केन्द्रले सभामुख पाउने निर्णय यसअघि नै भइसकेको छ। यहाँ नेकपा एमालेले मुख्यमन्त्री र माओवादीले सभामुख पाउने गरी भागवण्डा गरिएको थियो।

सोहीअनुसार एमालेका संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएर प्रदेशसभाबाट विश्वासको मत पाइसकेका  छन् । गण्डकीमा गठबन्धनका पक्षमा बहुमत रहेकाले गठबन्धनका उम्मेदवार विजयी हुने निश्चित छ ।

सभामुख चयनका लागि प्रदेशसभाको बैठक दिउँसो ३ बजे बोलाइएको छ  । प्रतिपक्षी दल नेपाली कांग्रेसले भने उम्मेदवार टुङ्गो लगाइसकेको छैन। कांग्रेस संसदीय दलको बैठकले सभामुखको उम्मेदवार तय गर्ने जिम्मा दलको नेतालाई दिएको छ । 

६० सदस्य रहेको गण्डकी प्रदेशसभामा नेपाली कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका ८, राप्रपाका २ र स्वतन्त्र एक सदस्य छन्। 

प्रकाशित मिति: शनिबार, पुस ३०, २०७९  ०८:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update