Sajha Post
सुदूरपश्चिम प्रदेश सभाले आज पनि सभामुख चयन गर्न नसके संवैधानिक संकट !

धनगढी । सुदूरपश्चिम प्रदेशमा आज पनि सभामुख चयनको लागि निर्वाचन हुँदैछ । यसअघि दुई पटकसम्म भएको निर्वाचनका कसैले पनि बहुमत नपाएपछि आज पुनः निर्वाचन हुन लागेको हो ।

सुदूरपश्चिममा माओवादी केन्द्रबाट भीम भण्डारी र कांग्रेसबाट मानबहादुर रावल सभामुखका उम्मेदवार छन् । पहिलो दिन २८ गते भएको निर्वाचनमा माओवादीका भण्डारीलाई सभामुख बन्न १ मत अपुग भएको थियो ।

५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा सभामुख निर्वाचित हुन २७ मत आवश्यक पर्छ । सुरुको दिन एक मत बदर हुँदा भण्डारीले २६ मत मात्रै पाए ।

३० गते भएको अर्को निर्वाचनमा नागरिक उन्मुक्तिका ७ सांसदले कतै पनि मत नदिएपछि भण्डारी र रावल दुवैको बहुमत पुग्न सकेन। सरकार आफ्ना माग सम्बोधनमा गम्भीर नभएको भन्दै नगरी उन्मुक्ति पार्टीले पक्ष र विपक्ष कतै मत नदिएपछि दुवैको बहुमत पुग्न सकेको थिएन । आज बिहान ९ बजे सभामुख चयन गर्न पुनः बैठक बोलाइएको छ ।

संविधानको धारा १८२ को उपधारमा १ मा प्रदेश सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिन भित्र प्रदेश सभाका सदस्यहरूले आफू मध्येबाट प्रदेश सभामुख र प्रदेश उपसभामुखको निर्वाचन गर्ने व्यवस्था छ ।

संविधानको यो दफा अनुसार माघ २ गते सभामुखको निर्वाचन गर्ने भनिएको छ । प्रदेश सभा सचिवालयले सोही दफा अनुसार अहिले सभामुखको निर्वाचन गराइरहेको छ । उपसभामुख को पनि निर्वाचन १५ दिन भित्रै गर्नु पर्ने संवैधानिक व्यवस्था छ ।


आज पनि सभामुख निर्वाचित हुन नसके संविधानमा उल्लेख भएको प्रदेश सभाले पहिलो बैठक बसेको १५ दिन भित्र सभामुख र उपसभामुख पाउने सम्भावना क्षीण छ । पहिलो बैठक बसेको आज १५ दिन पुग्दै छ ।

प्रकाशित मिति: सोमबार, माघ २, २०७९  ०८:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update