
काठमाडौं । पर्वतको विहादी गाउँपालिका वडा नं ५ की ६३ वर्षीया जमुना शर्मा विगत तीन महिनादेखि काठमाडौंमा छोरासँग बस्दै आएकी थिइन् । यही माघ ४ गते माइती गाउँ विहादी वडा नं ४ को वानीपोखरामा बाबुआमाको चौरासी पूजामा सरिक हुनका लागि छोरा युवराजसहित नाति र नातिनीसँग उनी पोखरा फर्कंदै थिइन् । बाबाको जन्मघर, गाउँ घुुम्न जान पाउँदा दुवै छोराकै खुसी देखिन्थ्ये ।
तर उनीहरुको खुसी विमानवाट झर्न नपाउँदै बिलय हुनपुग्यो । आइतबार काठमाडौंबाट पोखरा जाँदै गरेको यती एयरलाइन्सको विमान दुर्घटनामा परी ६३ वर्षीया जमुना शर्मा, उनको छोरा ४० वर्षीय युवराज, नातिनी १३ वर्षीया आयुर्दी र नाति चार वर्षीय बेवीन शर्माको निधन भएको छ ।
लामो समयदेखी गाउँ नआएका छोरा र नाति नातिनीसँग गाउँ फर्किंदा जमुना खुसी त थिइन नै साथै उनले माइतीमा आफ्ना आमाबुवाको चौरासी पूजामा समेत जाने योजना बनाएकी थिइन् । तर विमान दुर्घटनासँगै उनीहरुको सपना पनि अस्ताएको छ ।
जमुना आधा समय काठमाडौं छोरासँग र आधा समय गाउँमा नै बस्ने गरेकी थिइन् । छोरा अन्तर्राष्ट्रिय एकीकृत विकास केन्द्र इसिमोडमा आइटी अधिृकतका रुपमा कार्यरत थिए भने बुहारी सरु शर्मा त्रिभुवन विमानस्थलमा टावर कन्ट्रोलर अफिसरका रुपमा कार्यरत थिए ।
आफैँले टिकट काटेर श्रीमान्, छोरा, छोरी र सासूआमालाई घर पठाएकी सरुले आफूलाई सम्हाल्न नसकेर विक्षिप्त बनेकी छन् । एकै परिवारका चार जनाको निधन भएपछि अहिले पूरै गाउँ शोकमा डुबेको छ । गाउँमा रहेका आफन्त शव पहिचान गरी अन्त्येष्टिका लागि पोखरातर्फ लागेका छन् ।
विमान दुर्घटनामा परी पर्वतमा १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शर्मा परिवारका चार जना, पर्वतको कुश्मा नगरपालिका वडा नं १४ आर्थर डाँडाखर्कका पत्रकार त्रिभुवन पौडेल, कुश्मा नगरपालिका वडा नं ९ का अरुण पौडेल र उनकी छोरी ११ वर्षीया प्रसिद्धि पौडेल, कुश्मा नगरपालिका वडा नं १ पाङ्की रचना काफ्ले र उनका १० महिने छोरा रिहान पौडेल, मोदी गाउँपालिका वडा नं १ भुकताङ्लेका विजय गुरुङ रहेका छन् । रासस