
धनगढी । सुदूरपश्चिम प्रदेश सभाले भोलि सभामुख पाउने भएको छ । नागरिक उन्मुक्ति पार्टीले सभामुखमा सत्ता गठबन्धनका उम्मेदवारलाई मतदान गर्ने भएपछि भोलि सभामुखको टुंगो लाग्ने भएको हो ।
यसअघि प्रदेशसभामा दुई पटक मतदान हुँदा पनि कुनै पनि दलले बहुमत पाउन नसक्दा सभाले सभामुख पाउन नसकि संवैधानिक संकट उत्पन्न हुने अवस्था बएको थियो । सभाको पहिलो बैठक बसेको १५ दिन भित्र सभाले सभामुख चयन गरिसक्नु पर्ने संवैधानिक व्यवस्था छ ।
पहिलो बैठक बसेका आज सोमबार १५ दिन पुगेको छ । तर आज शोक बिदा परेकाले आजका लागि तय गरिएको प्रदेश सभा बैठक भोलिका लागि सारिएको थियो । नागरिक उन्मुक्तिले समर्थन नगर्दा सभामुख चयन गर्नै सकस भएको थियो ।
यसअघि नागरिक उन्मुक्ति पार्टीले मतदान नगर्न सभामुखमा सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका भीम भण्डारी र कांग्रेसका उम्मेदवार मानबहादुर रावल दुबैले बहुमत ल्याउन असफल भएका थिए ।
सोमबार नागरिक उन्मुक्ति पार्टीको सुदूरपश्चिम प्रदेशसभा बैठकमा अध्यक्ष रञ्जिता श्रेष्ठले माओवादी केन्द्रका उम्मेदवार भण्डारीलाई मतदान गर्न निर्देशन दिएकी हुन् । उनले सभामुखमा सत्ता गठबन्धनका उम्मेदवारलाई मत दिने बताइन् । यो निर्णयसँगै सत्ता गठबन्धनबाट माओवादीका भण्डारी सभामुख हुने निश्चित भएको छ ।
५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा सभामुख निर्वाचित हुन २७ मत आवश्यक पर्छ । सुरुको दिन एक मत बदर हुँदा भण्डारीले २६ मत मात्रै पाएका थिए । ३० गते भएको अर्को निर्वाचनमा नागरिक उन्मुक्तिका ७ सांसदले कतै पनि मत नदिएपछि भण्डारी र रावल दुवैको बहुमत पुग्न सकेको थिएन ।