
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज विश्वासको मत लिँदै छन् । प्रदेश सभाको दिउँसो बस्ने बैठकमा मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत लिने कार्यसूची तय भएको छ ।
पुष २५ गते मुख्यमन्त्री बनेका जम्मकट्टेलले गत पुस २६ गते शपथ लिँदै तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए । आज बस्ने प्रदेशसभा बैठकमा प्रदेशसभा नियमावली, २०७४ अनुसार विश्वासको मत विभाजनका लागि आवश्यक प्रक्रियाको तयारी पूरा भइसकेको सभामुख भुवनकुमार पाठकले जानकारी दिए ।
प्रदेशसभामा नेपाली कांग्रेसका ३७, नेकपा एमालेका २७, नेकपा माओवादी केन्द्रका २१, राप्रपाका १३, नेकपा एकीकृत समाजवादीका सात, नेककिपाका तीन र हाम्रो नेपाली पार्टीका दुई सदस्य छन् । उनी एमाले, नेकपा माओबादी केन्द्र र राप्रपाका सांसदहरुको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।