
काठमाडौं । सरकारले उखुको मूल्य प्रतिक्विन्टल २० रुपैयाँले बढाएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्ताव र उद्योग मन्त्रालयको सिफारिसमा यो वर्षका लागि बिक्री मूल्य निर्धारण गरेको हो ।
सरकारले उखुको मूल्य प्रतिक्विन्टल ५४० रुपैयाँ तोकिएको र ७० रुपैयाँ सरकारले ढुवानीका लागि अनुदान दिने निर्णय भएको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।
गत वर्ष सरकारले उखुको मूल्य प्रतिक्विन्टल ५२० रुपैयाँ तोकेको थियो भने ढुवानी वापतको अनुदान रकम ७० रुपैयाँ नै कायम गरेर कुल मूल्य ५९० रुपैयाँ प्रति मेट्रिकटन बनाएको थियो ।
अहिले भने सरकारले उखुको न्यूनतम मूल्य नै क्विन्टलमा २० रुपैयाँले वृद्धि गरेर नयाँ मूल्य तोकेको हो ।
सरकारले यसअघि आर्थिक वर्ष ०७७\७८ मा उखुको बिक्री मूल्य ५४४ रुपैयाँ ३३ पैसा तोकेको थियो ।