
काठमाडौं । भारतीय युवा ओपनर शुभमन गिल ओडिआई खेलमा दोहोरो शतक प्रहार गर्ने विश्व कै कान्छा खेलाडी बनेका छन् । गिलले न्युजिल्यान्डविरुद्ध पहिलो ओडिआईमा दोहोरो शतक हान्दै कीर्तिमान बनाएका छन् ।
राजिव गान्धी इन्टरनेशनल स्टेडियम हैदराबादमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४९ रन बनाउँदा गिलले २ सय ८ रनको योगदान गरे । भारतका शुभमन गिलले १ सय ४९ बलमा १९ चौका र ९ छक्कासहित २ सय ८ रनको सानदार दोहोरो शतकीय इनिङ खेले ।
गिलले ४९ औं ओभरको सुरुवाती तीन बलमा लोकी फर्गुसनलाई लगातार तीन छक्का हान्दै १ सय ४५ बलमा दोहोरो शतक पूरा गरे । २३ वर्षीय गिलले आफ्नो १९ औं ओडिआई इनिङमा दोहोरो शतक पूरा गरेका हुन् । गिलले २३ वर्ष १ सय ३२ दिन यो सफलता हात परेर भारतकै ईशान किशनको कीर्तिमान तोडे । ईशान किशनले अघिल्लो महिना बंगलादेशविरुद्ध २४ वर्ष १ सय ४५ दिनमा २ सय १० रनको दोहोरो शतकीय इनिङ खेलेका थिए । रोहित शर्माले २०१३ मा अष्ट्रेलियाविरुद्ध २६ वर्ष १ सय ८६ दिनमा २ सय ९ रनको दोहोरो शतकीय इनिङ खेलेका थिए ।
ओडिआईमा दोहोरो शतक प्रहार गर्ने गिल विश्वका आठौं ब्याटर हुन् । ओडिआई क्रिकेट इतिहासको यो १० औं दोहोरो शतक हो । १० मध्ये ७ भारतीय खेलाडीले दोहोरो शतक हानेका छन् ।
भारतकका रोहित शर्माले सर्वाधिक तीन पटक दोहोरो शतक प्रहार गरेका छन् । रोहितसँगै भारतका
विरेन्द्र सहवाग, सचिन तेन्दुलकर, ईशान किशन र गिलले दोहोरो शतक हानेका छन । न्युजिल्यान्डका मार्टिन गुप्टिल, वेस्टइन्डिजका क्रिस गेल र पाकिस्तानका फखार जमानले पनि ओडिआईमा दोहोरो शतक प्रहार गरेका छन् ।